काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीलाई विधिमा सञ्चालन गर्न र आफूलाई सुप्रिम नठान्न चेतावनी दिएका छन् ।
बुधबार नागरिक फ्रन्टलाइनसँग कुराकानी गर्दै नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्ने, पार्टीलाई विधिसंगत ढंगले सञ्चालन गर्नुपर्ने र पार्टीभित्र देखिएका समस्या पार्टीको बैठकमा छलफल गरेर टुंगो लगाउनुपर्ने बताएका हुन् ।
नेता नेपालले दुवै अध्यक्षलाई आन्दोलन र परिवर्तनको नेता बन्न सुझाव दिँदै पार्टी बैठकभन्दा फरक ढंगले नउभिन चेताए । ‘पार्टीभित्र समस्या देखियो, देशव्यापी रूपमा फैलिँदो छ । समस्या कमिटीभित्र सीमित गर्न सकिएको छैन । तर अहिले पनि कमिटीभित्र सीमित गर्नुपर्छ, कमिटीभन्दा पर समस्याको समाधान हुन्छ भनेर सोच्नु हुदैन,’ उनले भने ।
नेता नेपालले वर्षाबाट तर्सिने किसान, नदीबाट तर्सिने माझी, बन्दुकबाट तर्सिने सिपाहीको केही काम छैन भन्दै ओलीलाई पार्टीको बैठकबाट नभाग्न, बैठकमा आएर छलफलमा सहभागी भएर निकास निकाल्न सुझाव दिए ।
‘पार्टीभित्र सबै समस्याबारे छलफल हुनुपर्यो, कोभिडकै बारेमा छलफल गरौं, सरकारी नीतिका बारेमा छलफल गरौं । हामी आफैंलाई सर्वज्ञानी ठान्छौं, सर्वज्ञानी नठानौं । अहंकारले नै लंका दहन भएको हो,’ नेपालले भने ।
नेता नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठनको विषयमा धेरै जानकारी नराखेको विषय कोट्याउँदै दुवै अध्यक्षले आफूहरू सुप्रिम हो भन्ने ठानेको र त्यसले संगठनभित्र नकारात्मक असर पार्ने बताए । ‘प्रचण्डजीले आन्दोलन त हाँक्नुभयो तर संगठन सम्बन्धी विषय भने ग्याप भयो,’ नेता नेपालले भने ।
आफूले कुनै पनि पद नमागेको स्पष्टीकरण दिँदै नेपालले प्रधानमन्त्री वा अरु जे–जे अफर भए पनि अहिलेको लडाइँ त्यसको लागि नभएको बताए । ‘मैले प्रष्ट भनेको छु, पदको विवाद होइन, पदको हानथाप होइन, मैले पद नपाएको पनि होइन । पार्टी कसरी चलाउने ? पार्टी प्राइभेट लिमिटेडका रूपमा चलाउने, एउटा वा दुईवटा व्यक्ति मिलेर चोचोमोचो गरेर चलाउने होइन भन्दै आएको छु । यो कसैको प्राइभेट कम्पनी होइन,’ नेता नेपालले भने, ‘म देशको प्रधानमन्त्री भएँ भने वा प्रचण्डजी प्रधानमन्त्री भए पनि विवाद साम्य हुन्छ ? पार्टीको निर्णय मानिएन, पार्टीको विधि मानिएन भने विधि मिचियो भने, जनताको समस्यामा केन्द्रित भएन भने यसको अर्थ हुँदैन र इतिहासमा कोही पनि व्यक्ति निर्विकल्प हुँदैन ।’
नेपालले अहिलेको समस्याको जड नै प्रधानमन्त्री ओली भएको भन्दै जसले समस्या खडा गरेको हो उसैले समाधान निकाल्नुपर्ने बताए । ‘उहाँ (ओली) ले सबैको मन र भावना बुझ्नुपर्यो, सबैको विश्वास गुमाउनुभएको छ कि कायमै छ, त्यो विषयमा उहाँले बुझ्नुपर्यो’, नेपालले भने । उनले पार्टीभित्र बैठक राख्नकै लागि बिन्तीपत्र हाल्नुपर्ने अवस्था किन आयो भन्ने प्रश्न समेत गरे ।
‘पार्टीको बैठक बोलाउनुस् भनेर हामीले बिन्तीपत्र हाल्नुपर्ने अवस्था किन आयो, उहाँले बैठक किन राख्नुभएन । बैठक बोलाउन माग गर्दा पनि उहाँको व्यवहार ठीक भएन,’ नेता नेपालले ओलीप्रति लक्षित गर्दै भने, ‘बैठक बोलाउने २ पाने विषयमा जवाफ उहाँले कसरी लेख्नुभयो, त्यहीँबाट पहिलो फायर उहाँले सुरू गर्नुभयो, त्यसपछि प्रचण्डको १९ पाने प्रतिवेदन आएको हो ।’
नेता नेपालले पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्न आफ्नो सहमति रहेको बताउँदै भने, ‘तर पहिला जो हस्तान्तरण गर्ने ठाउँमा बसेको छ उसैले सुरू गरेपछि अरुले पनि गर्छन् । व्यक्तिवाद, गुटवाद प्रवृत्तिबाट माथि उठेर उमेरको आधारमा हेरौं, बुद्धिको आधारमा हेरौं, त्यागतपस्या गरेको आधारमा हेरौं तर आफैंबाट सुरू गरौं ।’ उनले जतिसुकै मतभेद रहे पनि पार्टीको बैठकबाट टुंगो लगाउने बताए । उनले पार्टीभित्रको समस्यामा विदेशीको प्रभाव नपर्ने समेत बताए ।
‘आन्तरिक समस्यामा विदेशीको प्रभाव पार्टीभित्र पर्दैन, पर्न दिन्नु हुन्न’, उनले भने । नेता नेपालले राजा फर्केर सत्तामा आउने सम्भावना नरहेको पनि बताए । उनले पूर्वराजालाई समेत सत्ताको र्याल नचुहाउन चेतावनी दिए । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।