काठमाडौं - एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाकालीन विवादलाई लिएर प्रधानमन्त्री केपी ओलीले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीको साधारण सदस्यबाट ६ महिनाका लागि निलम्बन गरे ।
थप २७ जना माधव पक्षका सांसदलाई कारबाहीका लागि स्पष्टीकरण सोधेका छन् । माधव नेपाल पक्षविना पनि एमाले चलाउँछु भनेर हिँडेका ओली दुई महिनामै गलेका छन् ।
विश्वासको मत लिन तीन दिन बाँकी छँदै माधव नेपाल पक्षविना एमाले चलाउन सकिन्न र एमाले रहँदैन भन्ने महसुस भएपछि ओली अहिले माधव समूहलाई फकाउन तारन्तार छलफल र बैठकमा जुटेका छन् ।
कतिसम्म भने आफूले नसकेपछि उनले राष्ट्रपतिलाई पनि परिचालन गरेका छन् । विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ दिनदिनै माधव पक्षका नेताहरू योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसालसँग संवादमा छन् ।
ओली आफैंले पनि बिहीबार राति माधव नेपाललाई टेलिफोनमा कुराकानी गरेको बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन आग्रह गर्दा नेता नेपालले २०७५ जेठ २ कै अवस्थामा फर्के मात्र त्यो सम्भव भएको नत्र जस्तोसुकै कदम चाल्न पछि नपर्ने बताएपछि राति नै ओलीले माधव नेपाललाई फोनमा कुराकानी गरेको बताइएको छ ।
स्रोतका अनुसार खनाल नेपाल पक्षका नेताहरूमाथि चलाएको अनुशासनको कारबाही फुकुवा गर्न ओली तयार देखिएका छन् । तर, एकलौटी थपेका पार्टी पदाधिकारी र सदस्य फिर्ता लिन माधव पक्षले राखेको माग सम्बोधन गर्न भने उनी अहिलेसम्म तयार देखिएका छैनन् ।
जसका कारण ठोस सहमति भइसकेको छैन । आज साँझसम्म एउटा सहमति हुने बुझिएको छ । माधव पक्षलाई कारबाही गर्दा आफ्नो प्रधानमन्त्री पद नै गुम्ने भएपछि ओली फतक्कै गलेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।