सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

चिनियाँ दबाबपछि रातारात छोट्याइयो नोबेल पुरस्कार विजेताहरूको सम्मेलन

चिनियाँ दबाबपछि रातारात छोट्याइयो नोबेल पुरस्कार विजेताहरूको सम्मेलन

  • मिडिया डबली
  • बुधवार, फाल्गुण १६ २०८०

  • 2.9K
    SHARES

  • चिनियाँ दबाबपछि रातारात छोट्याइयो नोबेल पुरस्कार विजेताहरूको सम्मेलन

    काठमाडौँ-  गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा मार्च १० देखि १२ (फागुन २७-२९) सम्म हुने भनिएको चौथो इन्टरनेशनल लुरिएट्स एन्ड लिडर्स समिटको समय एक दिन छोट्याइएको छ ।

    लुम्बिनी प्रदेश सरकारले तीन दिनका लागि तयारी गरिरहेको बेला एक दिन छोट्याएर कार्यक्रम एक दिन उता सारिएको हो । कार्यक्रमको तयारी प्रदेश सरकारका मुख्यमन्त्री डिल्ली चौधरीको नेतृत्वमा चलिरहेको थियो ।

    त्यसमा आवश्यक संयोजनकारी भूमिकामा परराष्ट्रमन्त्री एनपी साउद थिए । विश्वका ९० जना नोबेल शान्ति पुरस्कार विजेतासहित विशिष्ट व्यक्ति सहभागी हुने कार्यक्रम तीन दिन हुने भनेर तयारी गरिरहेको बेला समय एक दिन छोट्याउनुपरेको हो ।

    मिति छोट्याउनुको कारण भने चिनियाँ कूटनीतिक दबाब भएको स्रोतले बतायो । त्यसो त चीनले मार्च १० लाई अत्यन्तै संवेदनशीलरूपमा लिने गर्छ । कारण हो, यही दिन तिब्बतीहरूले चीनविरुद्ध विद्रोह थालेका थिए र तिब्बतभर प्रदर्शन भएको थियो । यसलाई चीनबाहिरका तिब्बतीहरूले ‘तिब्बतीयन अपराइजिङ् डे’ का रूपमा मनाउँछन् ।

    नोबेल पुरस्कार विजेताहरूको लुम्बिनीमा हुने भेलाले नेपालमा पश्चिमा मुलुकको स्वार्थ हाबी हुन मद्दत पुग्ने र तिब्बतीहरूप्रति सहानुभूति जाने विश्लेषण चिनियाँ पक्षले गरेपछि कार्यक्रम एक दिन छोट्याउनु परेको हो । एक दिन छोट्याएसँगै कार्यक्रम अब दुई दिने मात्रै अर्थात् मार्च ११ र १२ मा मात्रै हुनेछ ।

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता निराजन घिमिरे पनि यो स्वीकार्छन् । “सुरूमा तीन दिने नै भनिएको थियो । तर, केही कन्फ्यूजनहरू भएपछि फेरि सूचना नै जारी गरेर कार्यक्रम २८ र २९ अर्थात् मार्च ११ र १२ हुने जानकारी गराएका छौँ,” प्रवक्ता घिमिरेले भने, “मार्च १० चाहिँ अराईभलको समय हो । यसमा कन्फ्यूजन नहोस् ।”

    स्रोतका अनुसार नेपालका लागि चिनियाँ राजदूत छन सोङले यस सम्बन्धमा ‘हाईलेभल’ मा चासो व्यक्त गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग उनले संवाद गरेको उच्च कूटनीतिक स्रोत बताउँछ । प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाले सहमति जनाएपछि कार्यक्रम एक दिन पछि सरेर छोटिएको हो ।

    नोबेल शान्ति पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीले यो कार्यक्रमको समन्वय गरिरहेका छन् । आयोजकहरूले दिएको जानकारीअनुसार शान्ति सम्मेलनमा विदेशबाट १०० जना अतिथि आउनेछन् र नेपालका १०० जना सहभागी हुनेछन् । आयोजकका अनुसार नोबेल शान्ति पुरस्कार विजेता अब्देसातार बेन मुसा र ओउडेड बोचामाउई (२०१५), भारतका कैलाश सत्यार्थी (२०१४), एरिह वार्शेल (२०१३), नोबेल शान्ति पुरस्कार विजेता लेमाह गोबोवी र तावाक्कोल करमान (२०११), जोडी विलियम्स (१९९७), जोडी विलियम्स (१९९७), होर्टा (१९९६), र रिचर्ड जे रोबर्ट्स (१९९३) नेपाल आउँदैछन् ।

    सम्मेलनमा सहभागी हुनका लागि जोर्डनका राजकुमार अली बिन अल हुसेन, अर्थशास्त्री जेफ्री साक्स, पानामाकी पूर्वप्रथम महिला लोरेना कास्टिलो गार्सिया डे भारेला, अन्तर्संसदीय सङ्घका महासचिव मार्टिन चुङगोङ र स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटका अध्यक्ष स्टेफान लोफभेन पनि आउँदैछन् । सुरूमा यो सम्मेलनमा तिब्बती धर्म गुरु दलाई लामा आउने हुन् कि भन्नेमा चिनियाँ पक्ष निकै चिन्तित थियो । नोबेल शान्ति पुरस्कार विजेता लामा नआउने निश्चित भएपछि चीनले मार्च १० को कार्यक्रम पछि सार्न दबाब दिएको थियो ।

    यसबारे जानकार एक सरकारी अधिकृतले भन्छन्, “मार्च १० मा कार्यक्रम गर्दा तिब्बतको विषय उठ्यो भने तिब्बतका पक्षमा कुनै प्रदर्शन भयो भने यसको मूल्य नेपाल-चीन सम्बन्धले चुकाउनुपर्ने दबाब आएपछि सरकारले कार्यक्रमको मिति एक दिन पछि सारेको हो । यो निर्णय गरेको एक साताजति भयो ।”

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २० २०७७०५:४१:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend