काठमाडौं - राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि वरिष्ठ चलचित्रकर्मी नीर शाहको नाम सिफारिस भएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश समितिमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन मंगलबारसम्म ९० जनाले नाम टिपाएका थिए ।
अन्तिम दिन बुधबार शाहले नाम टिपाएका हुन् । शाहसहित बागमती प्रदेशबाट ९१ जनाको नाम सिफारिस भएको छ ।
राष्ट्रिय सभा चुनाव माघ ११ गते हुँदैछ । त्यसका लागि कांग्रेसले सातै प्रदेशबाट इच्छुक नेताहरूको नाम सिफारिस गर्न भनेको थियो । सोहीअनुसार प्रत्येक प्रदेशले ९० देखि ९३ जनाको नाम केन्द्रमा सिफारिस गरेका छन् ।
ती नामका विषयमा बिहीबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा छलफल हुने छ । कांंग्रेसले पुस १८ गतेपछि नाम फाइनल गर्ने भएको छ ।
कांग्रेस केन्द्रीय सदस्यहरूले पटक–पटक अवसर पाएका, संघ, प्रदेश र स्थानीय तहका चुनावमा पराजित भएका र समानुपातिक सूचीमा परेकालाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार नबनाउन नेतृत्वलाई दबाब दिएका छन् ।
कांग्रेसमा चार सयभन्दा बढी आकांक्षी सिफारिस भएर आएका छन् । यतिबेला कांग्रेसबाट राष्ट्रिय सभा सदस्यको टिकट पाउन सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापा मरिहत्ते भएर लागेका छन् । २०६२ मा खुलेको संघमा थापा अहिले पनि अध्यक्ष छन् ।
उनले कसैलाई पनि अध्यक्ष छाड्न चाहेका छैनन् । घुक्र्याएर, धम्क्याएर, गुट फेरेर उनी संघमा रहँदै आएका छन् । लामो समयसम्म संघमा बसेका उनले कांग्रेसको महाधिवेशन प्रतिनिधि महँगोमा बेच्दै आएका छन् ।
कांग्रेसको १४औं महाधिवेशनमा उनले संघका सदस्य नै नभएका रुपन्देहीका डिल्लीनारायण पाण्डेय र सुनिलजंग रायमाझीलाई मोटो रकम लिएर महाधिवेशन प्रतिनिधि बेचेको संघकै एक सदस्यले बताए ।
संघबाट प्रतिनिधित्व गर्ने तीन महाधिवेशन प्रतिनिधिका लागि उनले झन्डै १० लाख असुलेको संघमा चर्चा छ । संघमा आफू अल्पमतमा पर्नेवित्तिकै उनले पैसावाला मान्छे खोजीखोजी संघमा भर्ती गर्ने गरेका छन् ।
पैसा लिनेवित्तिकै उनले सिधै केन्द्रीय सदस्यको पर्चा थमाउने गरेका छन् । संघलाई प्यारालाइज्ड बनाएका थापाले सांसदको टिकट पाउन लबिङका लागि नेताहरू गुहारेका छन् ।
उनको काम अहिले दिनहुँ संघका केही स्वार्थी सदस्य भेला पारेर नेता नेताको ढोका चहार्नु रहेको छ ।
शुक्रबार उनी कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराही पुगेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।