काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बिहीबारदेखि बस्दैछ ।
राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार हुनेहरूको नाम टुंगो लगाउन केन्द्रीय समिति बैठक बोलाइएको हो ।
कांग्रेसका सातै प्रदेश समितिले पठाएको तीन–तीनजनाको नामबाट कांग्रेसले उम्मेदवारको नाम टुंगो लगाउने छ ।
अहिले धमाधम प्रदेश कार्यसमितिले केन्द्रलाई नाम सिफारिस गरिरहेका छन् । कांग्रेसबाट राष्ट्रिय सभामा जान नेता कृष्णप्रसाद सिटौला र गोपालमान श्रेष्ठसहितका शीर्ष नेताहरूको चर्चा छ ।
सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने गरी अगाडि सार्ने तयारी छ । प्रतिनिधिसभाको समानुपातिक सूचीमा रहेर पनि छनोटमा नपरेपछि सूचीबाट नाम हटाइएका श्रेष्ठ पनि राष्ट्रिय सभा प्रवेश गर्ने र अध्यक्षका आकांक्षी छन् ।
दुवै नेतालाई सभापति देउवाले राष्ट्रिय सभामा लैजाने वचन दिएका छन् ।
देउवाले अध्यक्षमा सिटौलाको विकल्प नभेटेपछि इतर समूहले नयाँलाई अवसर दिनुपर्ने सर्त अगाडि सारेको छ ।
इतर समूहले डा.मीनेन्द्र रिजाललाई राष्ट्रिय सभा अध्यक्षका रूपमा अगाडि सारेको छ ।
रिजाल आन्तरिक लबिङमा रहेको नेताहरू बताउँछन् । स्पष्ट वक्ता, अनुभवी, विषयमा दक्षता, अन्तर्राष्ट्रिय सम्बन्धलगायतका कारण रिजाल निकै उपयुक्त उम्मेदवार हुन् ।
यदि रिजाललाई राष्ट्रिय सभा अध्यक्ष बनाउन सकेमा संसदकै गरिमा बढ्ने इतर समूहका नेताहरूको दाबी छ ।
सहमहामन्त्री फरमुल्लाह मन्सुर, अनुशासन समिति संयोजक आनन्द ढुंगाना, बलबहादुर केसी, अब्दुल सतार, अरुण सुवेदीलगायत पनि राष्ट्रिय सभामा आकांक्षीका रूपमा छन् ।
प्रचार विभाग प्रमुख मिन विश्वकर्मा, डा. गोविन्द पोखरेल, भूपेन्द्रजंग शाही, मनोजमणि आचार्य, किरण कोइरालालगायतको नाम पनि कांग्रेसवृत्तमा चर्चा छ ।
कांग्रेसले अहिले नै उम्मेदवारको टुंगो लगाउँदा विवाद आउने देखेपछि केन्द्रीय समिति बैठकपछि गठबन्धनमा सिटको टुंगो लगाउने र अन्तिम समयमा उम्मेदवारको टुंगो लगाउने तयारी गरेको छ । निर्वाचन आयोगले पुस २३ मा मनोनयनको मिति तोकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।