काठमाडौं - कुनै समय पञ्चायती शासन व्यवस्थाको विरुद्ध आन्दोलनमा ओर्लिने एमाले अहिले एकजना व्यक्तिविरुद्ध आइलागेको छ ।
संसदको दोस्रो ठूलो तथा प्रमुख प्रतिपक्षी दल एमाले विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको व्यक्तिगत आन्दोलनको प्रतिवादमा उत्रिँदैछ ।
प्रसाईंले व्यक्तिगत अभियानअन्तर्गत मंसिर ७ मा लघुवित्त र सहकारी पीडितलाई काठमाडौंमा उतार्दैछन् ।
त्यसको प्रतिवाद गर्न एमालेले युवा संघ र अनेरास्ववियुको ब्यानरमा कार्यकर्ता उतार्ने तयारी गरेको छ ।
लघुवित्त र सहकारी पीडितको मागलाई लिएर प्रसाईंले उचालेको आन्दोलन केही समययता प्रमुख राजनीतिक दलविरुद्ध केन्द्रित देखिन्छ ।
त्यसमा पूर्वराजा ज्ञानेन्द्र शाहको आडभरोसामा राजसंस्था पुनर्स्थापनाको एजेन्डा प्रसाईंले घुसाएका छन् ।
तर, प्रसाईंको व्यक्तिगत पहलमा हुन लागेको आन्दोलनको प्रतिकारमा एमाले उत्रिनुलाई धेरैले राम्रो मानेका छैनन् ।
प्रसाईंको पूर्वघोषित कार्यक्रम प्रभावित पार्ने गरी एमालेको युवा संघले मंसिर ७ मै कार्यक्रम गर्ने घोषणा गर्यो ।
त्यसलाई पार्टीले काँध थापेपछि सडकमा दुर्गा प्रसाईं भर्सेस एमाले भएको छ ।
एमालेका नेता र कार्यकर्तामात्र होइन, शुभेच्छुकसमेत उसको अहिलेको प्रसाईंविरोधी गतिविधिको चर्को आलोचनामात्र गरिरहेका छैनन्, खासमा आफ्नै वर्गविरुद्धको प्रतिवादको रूपमा व्याख्या गरिहेका छन् ।
प्रसाईंले सहकारी, लघुवित्त तथा बैंकको ऋणबाट पीडितको आन्दोलनको नेतृत्व गरेका छन्, त्यही समूह एमालेको भोट बैंक थियो, वैचारिक र सांगठिनक रूपमा ।
अहिले त्यही समूह आन्दोलित हुँदा एमाले प्रतिवादमा उत्रिएको स्पष्ट हुन्छ । वैचारिक रुपमा कम्युनिस्टहरुलाई राजनीति गर्न, चुनाव जित्न शत्रु चाहिन्छ ।
बिना शत्रु कम्युनिस्टहरु बाँच्दैनन् । छैन भने पनि कृत्रिम शत्रु खडा गरेर भए पनि राजनीति गर्नुपर्छ र त्यही वर्ग संघर्ष र अन्तरविरोधमा जनतालाई प्रलोभनमा पारेर टिकी राख्नुपर्छ भन्ने विश्व कम्युनिस्ट आन्दोलनको ध्येय रह्यो ।
अन्तिममा कम्युनिस्टहरु नै संसारबाट मासिने स्थिति पैदा भयो र त्यो अझै तीव्र गतिमा हुँदै छ ।
पञ्चायत छँदा नेपाली कम्युनिस्टहरुको प्रधान शत्रु दरबार थियो र अलि अलि अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद थियो । पञ्चायत ढल्यो, बहुदल आयो ।
दरबार, कांग्रेस, पुँजिपति, सामन्त, भारत र अमेरिका शत्रुको रुपमा व्याख्या भयो ।
बहुदल गयो, राजा पनि गए । अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद त स्थायी शत्रु छँदै थिए अब नयाँ शत्रुको खोजी हुन थाल्यो । त्यसपछि केही समय कांग्रेस प्रधान शत्रु रह्यो ।
मिलेर एमसिसी पास भएपछि एमालेको प्रधान शत्रु पनि सकियो । अब अमेरिका कसरी शत्रु होस् । शत्रुको संख्या र आयतन पनि घट्दै र खुम्चिँदै गयो ।
हुँदा हुँदा एमाले र सत्ताधारी माओवादीको प्रधान शत्रु दुर्गा प्रसाई देखिएका छन् ।
दुर्गा प्रसाईलाई प्रधान शत्रु घोषणा गरेर, युवा संघ भिडाएर, काठमाडौंभरि निषेधित क्षेत्र बनाएर एमाले र माओवादी वैचारिक रूपमा स्खलित भएकोमा धेरैलाई राम्रो लागेको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।