काठमाडौं – कुनै बेला केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्सी चामलको भात खुवाएर चर्चामा आएका व्यवसायी दुर्गा प्रसाईं नेकपा विभाजन भएपछि प्रधानमन्त्री ओली पक्षमा लागेका छन् ।
प्रसाईं ओली पक्षमा लागेका मात्रै छैनन्, प्रचण्डलाई धम्की समेत दिन थालेका छन् ।
झापाको बिर्तामोडमा मंगलबार पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री लगायतका अतिथिलाई स्वागत गर्दै प्रसाईंले प्रचण्डले नेपाली जनतालाई धोका दिएको आरोप लगाए ।
‘प्रचण्डजी केपी ओलीसँग मिल्नुहोस् यसको विकल्प छैन,’ उनले भने, ‘तपाईं ओलीसँग मिल्नु भएन भने कम्युनिस्ट आन्दोलन सकिने छ ।’
प्रधानमन्त्री ओलीलाई फराकिलो छाती भएका राष्ट्रवादी र चट्टानी कम्युनिस्ट नेता भएको बताउँदै प्रसाईंले ओलीसँग निशर्त सहकार्य गर्न प्रचण्डलाई सुझाव दिएका छन् ।
प्रधानमन्त्री ओलीकै कारण नेपालमा दुईतिहाइको कम्युनिस्ट सरकार बनेको बताउँदै प्रसाईंले भने, ‘गणतन्त्रमा तपाईंले नै प्रमुख भूमिका खेलेको हो । त्यसैले तपाईंहरु मिल्नुको कुनै विकल्प छैन । तपाईंहरुको मिलन भयो भने नेपाली जनताको विकास र समृद्धिको उद्देश्यलाई दुनियाँको कुनै तागतले रोक्न सक्दैन ।’
विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केही नेताका कारण पार्टी फुटेको इङ्गित गर्दै उनले प्रवक्ता नारायणकाजी श्रेष्ठप्रति आक्रामक प्रहार गरे ।
प्रचण्डलाई प्रसाईंले भने, ‘जनयुद्ध पनि नभोगेका र जनयुद्ध नदेखेका काजी सा’पहरुको पछि लाग्नुहुन्छ भने ती काजीहरुले तपाईंलाई जनताको मन मस्तिष्कमा होइन, माइतीघर मण्डलाबाट धेरै पर हुत्याएर घर न घाटको बनाउनेछन् विचार गर्नुहोस् । राजनीतिमा कुनै विचार नभएका काजी सा’पहरु तपाईंका नजिक हुँदा हामीजस्ता लाखौं शुभचिन्तकहरु तपाईंबाट आउट हुन बाध्य भयौं । अहिले पाखा लागेका छौं । म फेरि पनि भन्छु । म जस्ता तपाईंका लाखौं शुभचिन्तकहरुको प्रतिनिधिमूलक आवाज पनि हो यो । तपाईंले कति विचार गर्नुभएको छ । मलाई थाहा छैन । परिस्थिति यस्तो भएको छ ।’
व्यवसायी प्रसाईंले पार्टीमा काजी सा’पहरु ‘इन’ हुँदा बाबुराम, मोहन वैद्यहरु ‘आउट’ भएको दाबी समेत गरे । ‘पार्टीमा काजी सा’पहरु तपाईंसँग इन्ट्री हुँदा बाबुरामहरु आउट भएका छन् । पार्टीमा काजीहरु इन भएपछि जीवनभर तपाईंका राजनीतिक गुरु मोहन वैद्यहरु पनि यतिबेला आउट भएका छन् । पार्टीमा सिन्को योगदान नभएका काजीहरुको हालीमुहाली भएपछि तपाईंलाई सहायक कमाण्डर भएर साथ दिने बादल, टोपबहादुर, प्रभु साह, मणि थापा, लेखराज भट्टहरू आउट भएका छन्,’ प्रसाईंले भने ।
पार्टीमा काजीहरुको रबैयाले हद नाघेपछि जुझारु विप्लवहरु आउट भएको दाबी गर्दै प्रसाईंले पार्टीप्रति अलिकति पनि दया भएमा फर्कन आग्रह गरेका छन् । उनले भने, ‘के अब म जस्ताको सहयोग प्रचण्ड कमरेडलाई नचाइएकै हो ?’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।