काठमाडौं - विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं आइतबार प्रहरी कार्यालयमा हाजिर हुने भएका छन्।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आइतबार बिहान ११ बजे प्रहरी प्रधान कार्यालय, नक्सालमा उनलाई उपस्थित हुन भनेका हुन्।
जथाभावी नबोल्न पटकपटक प्रहरीले गरेको आग्रहलाई बेवास्ता गर्दै आएपछि प्रसाईंलाई अन्तिमपटक सचेत बनाउन प्रहरी कार्यालय बोलाइएको बुझिएको छ ।
बैंकको ऋण नतिर्ने बरु उल्टै प्रतिरोध दस्ता खडा गरेर बैंकका कर्मचारीमाथि जाइलाग्ने जस्तो गैरकानुनी सार्वजनिक अभिव्यक्ति र क्रियाकलाप गरेपछि प्रसाईलाई पक्राउ गर्नुपर्ने चर्को दबाब छ ।
तर प्रहरीले अहिलेसम्म उनलाई नियन्त्रणमा लिएको छैन। ऋण नतिर्ने अभियानसँगै एमाले छाडेर उनी राजसंस्था पुनःस्थापनाको अभियानमा छन्। एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रसाईंका गतिविधिलाई नियन्त्रण गर्न आग्रह गरिसकेका छन् ।
प्रसाईंले एमाले छाडेपछि अध्यक्ष ओली, नेता महेश बस्नेतविरुद्ध चर्को अभिव्यक्ति दिँदै आएका छन्। युवासंघले कालोमोसो दलेपछि उनी आली र एमालेविरुद्ध थप आक्रामक देखिएका छन्।
प्रसाईंले ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको बताएपछि ओली र एमाले पंक्ति क्रुद्ध छ। प्रसाई अहिले नेपालमा व्यापार व्यवसाय गर्दै आएका मारवाडी समुदाय भड्काउ अभियानमा लागेका छन् ।
त्यसकै क्रममा पत्रकार सम्मेलन गर्न जाँदा उनीमाथि कालोमोसो दलिएको थियो । प्रसाईले विभिन्न बैंक तथा वित्तीय संस्थासँग साढे पाँच अर्बभन्दा बढी ऋण लिएका छन् । सो ऋण नतिर्ने उनको दाउ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।