काठमाडौं - कोशीपछि बागमती प्रदेशमा कांग्रेसभित्र महाभारत हुने देखिएको छ ।
कांग्रेस बागमती सभापति इन्द्र बानियाँसहित पार्टीका २० जना सांसद विद्रोहको तयारीमा रहेको बुझिएको छ। बानियाँ संस्थापन समूहकै सांसद बहादुरसिंह लामासँग संसदीय दलमा पराजित भएका थिए।
लामाले सभापति बानियाँलाई दुईजना मन्त्री बनाउने सहमति गरेका थिए । तर लामाले बानियाँलाई एकजना पनि मन्त्री दिएनन्। त्यसपछि बानियाँ समूह रुष्ट बन्दै आइरहेको थियो। बजेट बाँडफाँडमा पनि लामाले बानियाँसँग कुनै सल्लाह नगरेको बताइन्छ ।
प्रदेश सभामा पछिल्लो समय राम्रो भूमिका निर्वाह गर्ने नसकेको भन्दै मन्त्री लामासँग कांग्रेसकै सांसद रुष्ट छन् । संविधानको धारा १६८ (५) अनुसार कांग्रेसबाट विद्रोह गरेर एमालेका ३९ सांसदको समर्थनमा कोशीमा केदार कार्की मुख्यमन्त्री भएसँगै बागमतीमा बानियाँले पनि सोही किसिमको तयारी थालेको स्रोतको दाबी छ।
एक सय १० जना प्रदेशसभा सदस्य रहेको बागमतीमा कांग्रेसका २० सांसदलाई लिएर विद्रोह गर्न सके एमालेका २७ जनाको समर्थनसमेत बानियाँले पाउने देखिन्छ। त्यसबारे छलफलसमेत भएको बुझिएको छ ।
एमालेले कोशीपछि अन्य प्रदेशमा पनि सरकारमा सहभागी हुने रणनीति अख्तियार गरेको छ । संघीय सरकारमा जस्तै बागमतीमा पनि तेस्रो शक्तिको रुपमा रहेको माओवादीको नेतृत्वमा सरकार छ।
माओवादीले मुख्यमन्त्री पाउँदा कांग्रेसलाई ६ मन्त्रालय दिएको छ। तर, कांग्रेसभित्र आफ्नै पार्टी संसदीय दलका नेता लामा र मुख्यमन्त्री शालिकराम जम्कट्टेलको आलोचना भइहेको छ।
केही दिनअघि गोप्य बैठक बसेर बानियाँको पक्षमा हस्ताक्षर अभियानसमेत चलाइएको र त्यसपछि कोशीको परिस्थिति बुझेर अगाडि बढ्ने निर्णय भएको एक सांसदले बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।