काठमाडौं - वर्तमान सत्ता गठबन्धनलाई विस्थापित गर्दै नयाँ समीकरण बनाउने प्रयासमा एमाले लागेको छ ।
सोही कारण अहिले सत्ता गठबन्धनकै एउटा दलभित्र झगडा लगाएर विभाजन ल्याउने प्रयास भइरहेको स्पष्ट देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग स्पष्ट बहुमत छैन । एउटा मात्रै दलले समर्थन फिर्ता लिएमा सरकार ढल्छ ।
त्यही कारण अहिले एमाले अध्यक्ष केपी ओली एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई बोकेर माधवकुमार नेपालमाथि प्रहार गर्न लागिपरेका छन् ।
इलाम २ को उपचुनावको लोभ देखाएर ओलीले खनाललाई एकीकृत समाजवादीमा विभाजन ल्याउने रणनीति अन्तिम चरणमा लगेका छन् ।
यही कुरालाई बुझेर एकीकृत समाजवादीका अध्यक्ष नेपालले गठबन्धन छाड्ने र कांग्रेसलाई चिढ्याउने कुराले पार्टी सिद्धिने चेतावनी दिएका छन् ।
पार्टीनिकट कानुन व्यवसायीको भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै उनले पार्टीलाई बलियो बनाउने गरी अगाडि बढ्नुपर्नेमा जोड दिए । अहिलेको गठबन्धन नै एकीकृत समाजवादीको बलमा बनेको दाबीसमेत उनले गरे ।
‘गठबन्धन सरकारबाट बाहिरिनुपर्छ भन्नु पार्टी सिध्याउन खोज्नु हो । कांग्रेसलाई शत्रु बनाएर, कांग्रेसलाई बिचक्याएर अरू कसैलाई खुसी पार्न खोजेको छ भने त्यो कुरा सिंगो अभियान धराशयी पार्ने हो । हामी त्यो दिशामा जान सक्दैनौँ,’ नेपालले भने ।
उनले समाजवादी मोर्चामा आउन चाहनेलाई ढोका खुला राखेको बताए । तर, अहिलेकै अर्को कुनै पार्टीसँग एकताको सम्भावना नरहेको दाबी गरे ।
झलनाथ भने एमालेसँग मिलेर जानुपर्ने पक्षमा देखिएका छन् । उनले माधव नेपालले गरेका निर्णय नमान्ने खुलमखुला चेतावनी दिइसकेका छन् । खनालको पछिल्लो गतिविधि हेर्दा उनी चाँडै एमाले फर्किने माधव पक्षको बुझाइ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।