काठमाडौं - रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा फेरि तीन करोड घुसकाण्ड बल्झिएको छ ।
रास्वपाका तत्कालीन सांसद एवं केन्द्रीय सदस्य डा.ढाकाकुमार श्रेष्ठले आफूलाई मन्त्री बनाइदिन्छु भन्दै पार्टीको कोर टिमका सदस्यले तीन करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो ।
सो काण्डकै कारण रास्वपाले उनलाई अनुशासनको कारबाही गर्दै सांसदबाट फिर्ता बोलाएर पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । त्यसबेला श्रेष्ठले आफूसँग तीन करोड रुपैयाँ माग्नेको नाम सार्वजनिक गर्न सकेका थिएनन् ।
तर अहिले उनले रास्वपाका केन्द्रीय सदस्य मोहनजंग थापाले तीन करोड मागेको आरोप लगाएका छन् । केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा श्रेष्ठले कोर टिमको सदस्य मोहनजंगले मन्त्री बनाइदिने भन्दै आफूसँग तीन करोड रकम माग गरेको आरोप लगाएपछि पार्टीले छानबिन थालेको हो।
रास्वपाले थापाको नाम जोडेर दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाएको छ । पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले बुधबार विज्ञप्ति निकाल्दै ढाकाकुमारले आफूलाई मन्त्री बनाउन थापाले तीन करोड रुपैयाँ माग गरेका थिए भनी विभिन्न सञ्चारमाध्यममा सार्वजनिक अभिव्यक्ति दिएकोप्रति ध्यानाकर्षण जनाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अनुशरण गर्ने पार्टी भएकाले यस प्रकरणमा अझै पनि पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर डा.श्रेष्ठ वा जोकोही आएको अवस्थामा पार्टीले त्यस्ता सदस्य जोकोही भए पनि प्रमाण पेश भएको ७२ घण्टाभित्र कारबाही गरिनेसमेत ढकालले उल्लेख गरेका छन् ।
उनले श्रेष्ठमाथि यसअघि नै अनुशासनसम्बन्धी कारबाही गरी पार्टीबाट निष्कासन गरिसकेको भन्दै उनले नाम मुछेका केन्द्रीय सदस्य मोहनजंग थापासँग सोधपुछ र अनुसन्धान सुरु भएको जानकारी दिएका छन् ।
‘केन्द्रीय अनुशासन आयोगका प्रमुखसमेतको उपस्थितिमा हिजो बसेका पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा यस विषयमा छलफल भएको थियो,’ पार्टीका महामन्त्री ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा केन्द्रीय अनुशासन आयोगबाट केन्द्रीय सदस्य मोहनजंग थापालाई सोधपुछ तथा अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको छ।’ यदि थापाले रकम मागेको पुष्टि भएमा उनको केन्द्रीय सदस्य पद पनि चैट हुने सम्भावना बढेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।