काठमाडौं - ताप्लेजुङमा नेपाल प्रहरीको बर्बरताले सीमा नाघेको छ । रक्सीले मातेका प्रहरीलाई छोरीचेलीलाई नजिस्क्याउन आग्रह गरेकै कारण प्रहरीले कोसी प्रदेशका सांसद खगेनसिंह हाङ्गामको घरमा घेरा हालेर हुलहुज्जत गरेको छ ।
प्रहरी पोसाक र सादा पोसाकमा लाट्ठी तथा हतियारसहित ठूलो संख्यामा खटिएका प्रहरीले सांसद हाङ्गामको फुङ्लिङ नगरपालिका–५ स्थित घरमा बिहीबार राति घेरा हालेर हुलहुज्जत गरेका हुन् ।
सांसद हाङ्गामको सचिवालयले घटनाको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेपछि यो तथ्य बाहिर आएको हो । भिडियोमा पोसाकसहित लाट्ठी र हतियारधारी तथा बिना पोसाकका प्रहरी अभद्र शैली र उग्ररूपमा प्रस्तुत भएको देखिन्छ ।
प्रहरीले उनको घरको गेटमा पटकपटक लात्ताले प्रहार गरेका छन् । बिहीबार दिउँसो स्थानीय एक जात्रामा प्रहरी र कांग्रेसका कार्यकर्ताबीच विवाद भएको थियो ।
कांग्रेस कार्यकर्तामाथि कुटपिट भएपछि दिउँसोदेखि नै प्रहरीसँग विवाद र भनाभन भएको हाङ्गामको भनाइ छ ।
‘प्रहरीले मापसे गरेर एकजना बहिनीलाई दुःख दिएपछि कांग्रेसका कार्यकर्ताले त्यसो नगर्न आग्रह गरेका हुन् । त्यस क्रममा केही वादविवाद भयो,’ उनले भने, ‘मैले घटना मिलाउन सहजीकरण पनि गरेँ । यही विषयलाई लिएर प्रहरीले घर घेरा हाल्दै मलाई आक्रमणको प्रयास गरे ।’
हाङ्गाम तरुण दल ताप्लेजुङको अध्यक्ष, कांग्रेसको क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि पनि हुन् । घर घेरा हालेर आफूमाथि प्रहरीले आक्रमणको प्रयास गरेको उनले बताए ।
प्रहरीका कारण आफू असुरक्षित हुनु परेको गुनासो उनको छ । कोसी प्रदेश प्रहरीका प्रवक्ता एसपी ऋषिराम कँडेलले घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।