बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

बलम्बु माविमा प्राविधिक शिक्षालय भवन शिलन्यास, सोड नेपालले गर्‍यो सहयोग

बलम्बु माविमा प्राविधिक शिक्षालय भवन शिलन्यास, सोड नेपालले गर्‍यो सहयोग

  • मिडिया डबली
  • बुधवार, भाद्र ६ २०८०

  • 2.5K
    SHARES

  • बलम्बु माविमा प्राविधिक शिक्षालय भवन शिलन्यास, सोड नेपालले गर्‍यो सहयोग

    काठमाडौँ- काठमाडौँस्थित चन्द्रगिरि नगरपालिका-१२ को बलम्बु माध्यामिक विद्यालयमा प्राविधिक शिक्षाको पनि पढाइ सुरुवात हुने भएको छ।

    बुधबार विद्यालयका ९ कक्षादेखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई केन्द्रित गरी बलम्बु प्राविधिक शिक्षालयको भवनको शिलन्यास कार्यक्रम सम्पन्न भयो।

    ड्रिम सेयरिङ फाउन्डेशन, दक्षिण कोरियासँगको समन्वयमा स्थानीय साझेदार संस्था विकासका लागि ऐक्यबद्धता (सोड) सँग चन्द्रागिरि नगरपालिकाको सहकार्यमा प्राविधिक शिक्षालयको भवन निर्माणको सुरुवात भएको हो।

    उक्त भवन करिब २ करोड ६४ लाख रुपैयाँको लागतमा निर्माण हुनेछ। खास गरी शिक्षा र महिला सशक्तिकरणको क्षेत्रमा नेपालका विभिन्न जिल्लामा कार्यक्रम गर्दै आइरहेको सोड नेपालले यसपटक विद्यालय शिक्षासँगै प्राविधिक शिक्षालाई जोड दिएर स्थानीय सरकार र विद्यालयसँग सहकार्य गरी कार्यक्रम सुरु गरेको हो।

    यो प्राविधिक विद्यालयको उद्देश्य फरक रहेको बताउँछन् सोड नेपालका अध्यक्ष ज्ञानप्रसाद श्रेष्ठ। उनले विद्यार्थीलाई विद्यालय शिक्षासँगै प्राविधिक शिक्षाको पनि सैद्धान्तिक र प्रयोगात्मक ज्ञान हुँदा विद्यालय शिक्षा पछिको समयमा बेरोजगार बस्नुपर्ने समस्याको अन्त्य हुने विश्वास रहेको बताए।

    'अहिले प्राय विद्यालयमा पढिरहेका विद्यार्थीहरू कक्षा १२ सकेसँगै विदेश जाने फेसन नै भइसकेको छ। हाम्रो उद्देश्य भनेको स्वदेशमै सम्भावना हुँदाहुँदै विदेशीएका विद्यार्थीलाई यहीँ दक्ष बनाएर यहीँ काम पाउन सक्षम बनाउनु हो,' श्रेष्ठले भने, ' नेपाली बजारमा दक्ष जनशक्तिको अभाव बढिरहेको र धेरै युवा बेरोजगार भएको समयमा हामीले सुरु गरेको प्राविधिक शिक्षाले यसलाई केहीहदसम्म कम गर्छ भन्ने लागेको छ।'

    उनले विद्यालय शिक्षासँगै प्राविधिक शिक्षाको रुपमा योखाले काम पहिलोपटक सुरु भएकोले नमुना हुने गरी गर्न सबैलाई आग्रह पनि गरे। भवन शिलन्यासपछि ड्रिम सेयरिङ फाउन्डेशन, दक्षिण कोरियाका अध्यक्ष सिन वन गनले आफू पनि विगतमा विपन्न परिवारमै जन्मेर हुर्किएको व्यक्ति भएकोले अहिले यसखाले सहयोग सोडमार्फत नेपाल आएको बताए।

    'म आफैँ पनि निम्न आय स्रोत भएको परिवारबाट जन्मे हुर्केर अहिले यो ठाउँमा आएको व्यक्ति हुँ। त्यसैले मैले आज आफ्नो विगत सम्झँदै यहाँको सरकारी विद्यालयमा प्राविधिक शिक्षा पढाउन सहयोग गर्न उपस्थित भएको छु,' उनले भने, 'यस्ता कार्यक्रमको लागि आज सुरुवात गरेँ। आगामी दिनमा अन्य विद्यालयहरूमा प्राविधिक शिक्षालय सञ्चालनमा सहयोगलाई निरन्तरता दिन्छु।'

    उनले बोलेको भाषा अनुवाद गरेर सोड नेपालका उपाध्यक्ष अर्जुन पौडेलले सहयोग गरेका थिए। यो प्राविधिक शिक्षालय भवन निर्माण सम्पन्न भएपछि विद्यार्थीले चारवटा विषय रोजेर पढ्न पाउनेछन्।

    पढाइ सुरु भएपछि विद्यार्थीले ब्युटिसियन, अटोमोबाइल मर्मत, मोबाइल मर्मत र इलेक्ट्रिसियनसम्बन्धित पढाइमध्ये एक रोज्नुपर्ने हुन्छ। यी विषय पढाइका लागि विद्यालयमा चाहिने सम्पूर्ण सामग्री सोड नेपालले सहयोग गर्ने सोड नेपालका अध्यक्ष श्रेष्ठले जानकारी दिए।

    'यो कार्यक्रम पढ्दै, कमाउँदै रोजगार मुलक शिक्षा' भन्ने नाराका साथ कार्यक्रम अघि बढाएका छौँ' श्रेष्ठले भने,' ९ कक्षादेखि प्राविधिक शिक्षा पढ्न थालेको विद्यार्थी १२ कक्षा पास गर्दा एक हातमा विद्यालयको शैक्षिक प्रमाणपत्र लिन्छ अर्को हातमा प्राविधिक शिक्षाको। भोलि उसले पक्कै पनि बेरोजगारीको समस्या भोग्नु पर्दैन। हाम्रो उद्देश्य पनि यही हो।'

    त्यस्तै कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले यसखाले सहकार्य र कार्यक्रमले स्थानीय युवाहरू स्वरोजगार बन्नका लागि मद्दत गर्ने बताए।

    नेपाल, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)का दिपकबाबु अर्यालले सोड नेपालले स्थानीय सरकार र विद्यालयसँग सहकार्य गरी प्राविधिक विषयमा विद्यालय तहमै ज्ञान दिन गरेको कामको प्रशांसा गरे। उनले सीटीईभीटीले प्राविधिक शिक्षाका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

    कार्यक्रमका अध्यक्ष चन्द्रागिरि नगरपालिका १२ का वडाअध्यक्ष न्हुच्छेबहादुर महर्जन र विद्यालयका प्राधानाध्यापक सुमन रावतले सबैलाई स्वागत गरी यसखाले कार्यक्रम सुरु गरेकोमा धन्यवाद दिए।

    साथै आगामी दिनमा पनि यस्ता सहयोग निरन्तर होस् भन्ने अपेक्षा पनि व्यक्त गरे। यो विद्यालयमा प्राविधिक पढाइका लागि भवन बनाउन सोड नेपाल र चन्द्रागिरी नगरपालिकाबीच गत जेठ २० गते सम्झौता भएको थियो। भवन १२ महिनाभित्र निर्माण सम्पन्न हुने बताइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र ६ २०८००४:५४:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend