काठमाडौं - नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य मुकेश घिमिरे र एलिजा ढकाल केन्द्रीय समितिमा नरहेको घोषणा गरेका छन्।
उनीहरूले मंगलबार नेविसंघका सभापति दुजाङ शेर्पालाई पत्र लेख्दै आफूहरू केन्द्रीय समितिमा नबस्ने घोषणा गरेका हुन्।
गत २२ साउनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७१० सदस्यीय नेविसंघ गठन गर्दा ढकाल र घिमिरेलाई पनि केन्द्रीय सदस्य मनोनीत गरेका थिए। दुवैले निकालेको विज्ञप्तिमा ‘नेविसंघको सुन्दर भविष्यको कामना गर्दै यस समितिमा नरहेको घोषणा गर्न चाहन्छौँ’ भनेका छन्। उनीहरूले काम गर्न कुनै औपचारिक पदमा बसिराख्नु नपर्नेसमेत उल्लेख गरेका छन्।
‘नेतृत्व विकासको प्रमुख जगको रुपमा रहेको विद्यार्थी संगठनलाई दुषित पारेर पार्टीको सुन्दर भविष्य भेट्न सकिँदैन । यसले न वर्तमान चुनौतीसँग सामना गर्न सक्छ न थप विद्यार्थीहरू कै आकर्षण गर्न सक्छ । योगदान, क्षमता, कार्यकौशलता र पृष्टिभूमिको आधारमा भन्दा पनि व्यक्तिगत अनुकम्पामा नेतृत्व चयन गर्ने प्रणाली विकसित हुँदै जाँदा आजको परिप्रेक्ष्यमा विद्यार्थी राजनीति प्रश्नको घेरामा पर्दै प्रतिरक्षाको सङ्घारमा उभिएको छ। नेविसंघलाई यो दुष्चक्रबाट बाहिर ल्याउने जिम्मेवारी नयाँ पुस्ताको काँधमा आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेतृत्वमा स्थापित नयाँ पुस्ताका साथीहरूको क्षमतामा विश्वास गर्दै, नयाँ पुस्ताकै आँखाबाट नेविसंघ सुन्दर, सक्षम तथा समयानुकुल बनाउने सपना देख्दै, आवश्यक सहयोग, सदभाव, सुझाव र शुभेक्षाका लागि हामी सदासर्वदा तयार नै छौँ । यसका लागि औपचारिक रुपमा कुनै अमुक पदमै बसिरहनु पर्छ भन्ने अनिवार्य शर्त छैन ।’
नेविसंघ समावेशी नभएकोमा पनि विरोध भइरहेको छ। असन्तुष्ट पक्षले विधानअनुसार १५१ सदस्यीय नेविसंघ गठन गर्न पनि माग गरिरहेका छन्। सोमबार मात्रै नेविसंघका अस्रन्तुष्ट विद्यार्थी नेताहरूले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई ज्ञापनपत्र बुझाएका थिए ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।