काठमाडौं - एमाले नेता महेश बस्नेत सहभागी एक कार्यक्रममै एमाले नेता मरणासन्न हुने गरी कुटिएका छन् ।
एमालेनिकट राष्ट्रिय युवा संघ कञ्चनपुरको जिल्ला अधिवेशनमा पार्टीका जिल्ला सदस्य एवं भीमदत्त नगरपालिका– १८ का वडाध्यक्ष रवीन्द्र देवकोटा कुटिएका हुन् ।
देवकोटा र आयोजक कमिटी सदस्य खगेन्द्र नाथलाई बचाउँदा एमाले जिल्ला सदस्य प्रशान्त भट्टमाथि समेत कुटपिट भएको संगठनका नेताहरूले बताएका छन्।
नेतृत्वका लागि दिनेश विष्ट र नवीन चन्द दुई समूह देखिएका थिए। विष्ट र चन्दले दुवैले एक अर्कोलाई कुटपिटको आरोप लगाएका छन्।
चन्द पक्षका नेता कार्यकर्ताको कुटपिटबाट घाइते देवकोटाको महाकाली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढी रिफर गरिएको छ।
उनीमाथि हेलमेट, मुक्का र हात्ताले प्रहार भएको बताइएको छ। पार्टी पोलिटब्युरो सदस्य एवं युवा संगठनका इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यतामा शुक्रबारदेखि महेन्द्रनगरमा जारी युवा संघ कञ्चनपुरको १०औँ अधिवेशनमा कुटपिट भएको हो।
उद्घाटन सत्रमा अध्यक्षमण्डल, प्रतिनिधिको विषयमा उत्पन्न विवाद बन्दसत्रसम्म पुग्दा कुटपिटमा परिणत भएको थियो। पार्टी संस्थापन पक्षबाट विष्ट र पूर्वमाओवादीसहितका एमालेको अर्को पक्षबाट चन्द अघि सरेका थिए।
दुवै पक्षको उद्देश्य आ–आफ्नो उम्मेदवार टिमलाई अध्यक्षसहित पदाधिकारी बनाउने होडबाजीका बीच विवाद भएको थियो।
विवादका क्रममा एक आपसमा आरोप प्रत्यारोपदेखि कुर्सी तोडफोडसम्म भएको थियो। अहिले सामाजिक सञ्जालमा कुटपिटको भिडियो भाइरल बनिरहेको छ । जसले एमालेभित्रको गुट उपगुटको विवाद छताछुल्ल भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।