काठमाडौं - एक साता लामो केन्द्रीय समिति बैठकपछि नेपाली कांग्रेसले पुनर्जीवन प्राप्त गरेको छ ।
साउन २ देखि १० सम्म बसेको केन्द्रीय समिति बैठकमा खुलेर केन्द्रीय सदस्य र पदाधिकारीले पार्टीले लिनुपर्ने नीति र विचारबारे आफ्नो धारणा राखे । ११ महिनासम्म कांग्रेस केन्द्रीय समिति बैठक बस्न सकेको थिएन ।
अब प्रत्येक दुई महिनामा एकपटक केन्द्रीय समिति बैठक बस्ने मिति नै तोकिएको छ । जसले गर्दा कांग्रेसका निष्क्रिय संगठनहरू चलायमान बन्ने अपेक्षा गरिएको छ । कांग्रेसले एकवर्षे संगठन विस्तार अभियान सुरु गरेको छ ।
जसअनुसार साउन २० देखि ३० आन्तरिक संगठन सुदृढीकरण अभियान सुरु भएको छ । कांग्रेसले यो अभियानका लागि आफ्ना केन्द्रीय सदस्यलाई ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि तोकेको छ ।
सबै अहिले आ–आफूलाई खटएको जिल्ला र निर्वाचन क्षेत्रमा पुगिसकेका छन् । यो १० दिनसम्म उनीहरूले त्यहाँ पार्टीका भ्रातृसंगठन, तल्लो तहका कमिटीका प्रतिनिधिहरूसँग छलफल गर्नेछन् । के कस्ता कमीकमजोरी छ ? पार्टी नेतृत्वले कस्तो नीति लिनुपर्ने हो ? कसरी अघि बढाउनुपर्ने हो ? सबै विषयमा जानकारी लिएर पार्टीलाई प्रतिवेदन बुझाउने छन् ।
जसबाट पार्टी ती जिल्ला र निर्वाचन क्षेत्रमा आगामी दिनमा लिनुपर्ने नीति र अपनाउनुपर्ने रणनीति अख्तियार गर्न सहज हुने विश्वास लिइएको छ ।
पार्टीको संगठन सुदृढीकरण अभियानमा सहभागी हुन भ्रातृसंगठनहरूले पनि तल्लो तहलाई पत्राचार गरिसकेका छन् । विगत डेढ वर्षसम्म पार्टीका कुनै पनि कमिटी चल्न नसक्दा, भ्रातृसंगठन चलायमान हुन नपाउँदा कांग्रेसका धेरै नेता कार्यकर्ता लाखापाखा लागेका थिए ।
गठबन्धनका कारण आफ्नो भविष्य सुरक्षित नदेखेर नयाँ पार्टीमा जाने कांग्रेस नेता कार्यकर्ताको संख्या पनि धेरै छ । कांग्रेस मतदाता र समर्थककै भोट पाएर नयाँ पार्टीहरू उदय भएका हुन् । अहिले पनि उनीहरूले कांग्रेसकै भोटरलाई आफ्नो भनेर प्रचार गरिरहेका छन् । र, मिसन २०८४ भन्दै हिँडेका छन् ।
उनीहरूको त्यो रणनीतिलाई निस्तेज पार्न पनि कांग्रेसले नयाँ गति लिनैपर्ने थियो । अब भने कांग्रेसले त्यो स्पिरिटलाई पक्रने विश्वास गरिएको छ ।
आफ्ना पहिलेका भोटर मात्रै सुरक्षित गर्न सक्ने हो र कांग्रेसमा नयाँ पुस्तालाई आकर्षण गराउने हो भने कुनै पनि तागतले कांग्रेसलाई साढे चार वर्षपछि फेरि पनि ठूलो दल बन्नबाट कसैले रोक्न सक्दैन ।
कांग्रेसलाई तल्लो तहसम्म र अन्य दलभन्दा कसरी भिन्न बनाउन सकिन्छ भनेर अहिले पदाधिकारी तहमा बसेका र आगामी दिनमा पार्टीको नेतृत्व लिने नेताले सोच्न जरुरी भइसकेको छ ।
कांग्रेसले डेलिभरी दिने विषय र जनमुखी नीति अंगाल्नुपर्ने धेरैको सुझाव छ । यसलाई अहिलेका पदाधिकारी तहमा बसेका धेरै युवा नेताले सुझावका रूपमा ग्रहण गरी अघि बढ्न ढिला भइसकेको छ ।
पार्टी केन्द्रीय समिति बैठकले पारित गरेको महामन्त्री गगन थापाको कार्ययोजनामा कांग्रेसलाई चलायमान बनाउन सक्ने धेरै विषय रहेको नेताहरूको भनाइ छ ।
पार्टीले वर्षभरि गर्नुपर्ने कामको एजेन्डा नै तोकिदिएकाले अब बाध्य भएर नेताहरू जिल्लाजिल्ला जानुपर्ने परिस्थितिको विकास भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।