काठमाडौं - नयाँ बसपार्क होस् वा सहरका विभिन्न बस स्टप झोला बोकेका यात्रु देख्न हुँदैन । बिचौलियाहरूले झोला तानेर बसमा जबर्जस्ती हुलिहाल्छन् ।
बसबाट ओर्लन लागेको झोला तानेर आफ्नो होटलमा जान दबाब दिने पनि धेरै भेछिन्छन् । खास गरेर यस्तो आतंक अहिले गोंगबुस्थित नयाँ बसपार्कमा धेरै छ ।
काठमाडौं महानगरपालिकाले बसपार्कबाहेक अन्यत्र यात्रु चढाउन नपाउने नियम लागू गरेपछि नयाँ बसपार्कमा बिचौलियाहरूले रामलीला नै मच्चाउने गरेका छन् ।
नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा यात्रुको झोला जथाभाबी तानेर यात्रुलाई दुःख हैरानी दिने व्यक्तिहरूलाई पक्राउ गर्न गर्न थालेको छ ।
प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँबसपार्कमा यात्रुको झोला तानेर दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्दै आएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल अधिकारीले विभिन्न स्थानबाट काठमाडौँ आएका यात्रुलाई जबर्जस्ती झोला तानेर दुःख हैरानी दिने ट्याक्सी चालक, होटल सञ्चालक र होटलमा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले शनिवार मात्र नयाँबसपार्कबाट १० जनालाई नियन्त्रणमा लिएको छ ।
जसमध्ये चारजना होटल सञ्चालक छन् । नेपाली होटल व्यवसायी सङ्घका अध्यक्ष गणेश ढकालले होटल व्यवसायी संघ र नेपाल प्रहरीको संयुक्त टोलीले यात्रुलाई दुःख हैरानी दिनेलाई कारबाहीका लागि अभियान सञ्चालन गरेको बताए ।
यात्रुलाई दुःख तथा हैरानी दिने जो-कोहीलाई कारबाही हुनुपर्ने उनको भनाइ छ । संघले पछिल्लो समय होटल क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न तथा व्यवस्थितरूपमा होटल सञ्चालन गर्न होटलमा अनिवार्यरूपमा ‘सिसी क्यामेरा’ जडान गर्ने कामलाई समेत अगाडि बढाएको जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।