काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमालेको अनुपस्थितिमा सुदूरपश्चिम प्रदेश सरकारको बजेट पास भएको छ ।
शनिबार अबेर राति सुदूरपश्चिम प्रदेश सभाले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि प्रस्तुत बजेट बहुमतले पारित गरेको हो ।
शनिबार अपराह्न ५ बजे नै एमाले सांसदहरू संसद् छाडेर हिँडेपछि बजेट पास नहुने अनुमान गरिएको थियो । प्रतिपक्ष दलबिना बैठक राखेर बजेट पास गर्दा नैतिक प्रश्न उठ्ने भएपछि सत्तारुढ दलका नेता र मन्त्रीले राप्रपाकी एक मात्र सांसद खेमादेवी विष्टलाई बाटोबाटै फर्काएर प्रदेशसभामा उपस्थित गराई बजेट पास गरेका हुन् ।
मुख्यमन्त्री कमलबहादुर शाहसहित दलका नेताहरूले राप्रपा सांसद विष्टलाई सार्वजनिक लेखा समिति सभापति बनाउने सहमति गरेर बैठकमा उपस्थित गराइएको हो । लेखा समिति सभापति विपक्षीले पाउने प्रचलन छ ।
बजेटको पक्षमा ३९ र विपक्षमा राप्रपाको एक मत मात्रै परेको थियो । पक्षमा कांग्रेसका १८, माओवादीका १०, नागरिक उन्मक्तिका सात र एकीकृत समाजवादीका चारजनाले मतदान गरेका थिए ।
यथास्थितिमा पारित नगर्ने अडानमा रहेको सत्तारुढ दलका नेताहरु र सरकारबीच सांसद विकास कोष अर्थात् प्रदेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम तीन करोडबाट बढाएर पाँच करोड पुर्याउने सहमति भएपछि मात्रै बजेट पास गर्न सत्ता पक्षीय सांसद सहमत भएका हुन् ।
बजेट पास भएसँगै कांग्रेसका मुख्यमन्त्री शाहको कुर्सी जोगिएको छ । बजेट पास नहुनेवित्तिकै उनको सरकार ढल्ने अनुमान निश्चित थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।