काठमाडौं - एकीकृत समाजवादीले सरकार छाड्ने चेतावनी दिएको छ । गोरखा, डडेल्धुरा र नुवाकोटमा मात्र धेरै बजेट पारिएको भन्दै एकीकृत समाजवादीले बरु सरकार छाड्ने, तर बजेट पारित हुन नदिने चेतावनी दिएको छ ।
शुक्रबार समाजवादी प्रेस संगठनको प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रमा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले बजेटमा विभेद गरेको भन्दै आफ्नो पार्टीले यथास्थितिमा पास गर्न नदिने चेतावनी दिएका हुन् ।
त्यसका लागि सरकार छाड्नुपरे आफ्नो पार्टी तयार रहेको दुवैको भनाइ छ । बिहीबार विदेशबाट स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि गोरखा, डडेल्धुरा र नुवाकोटमा बढी बजेट छुट्याएको आफूले सुनेको बताएका थिए । पाण्डेले भौतिक पूर्वाधारको पाँच अर्ब बजेटको आधा रकम डडेलधुरा, गोरखा र नुवाकोट लगिएको भन्दै आपत्ति जनाए ।
‘भौतिक पूर्वाधारमा पाँच अर्ब बढी पैसा गयो रे । त्यसमा ११० करोड डडेलधुरामा, ५५ करोड गोरखामा र ७०–७५ करोड नुवाकोटमा । २३२ करोड चाहिँ तीनवटा जिल्लामा, बाँकी २६८ करोड चाहिँ ७४ जिल्लामा यो टाइपले बजेट विनियोजन भयो । आजका दिनमा यस्तो अन्याय हुनुहुँदैन । हामी कडाइका साथ भनिरहेका छौं । यही अवस्थामा यथास्थितिमा यो बजेट पास हुँदैन । सरकार छाड्नुपरे परोस् अन्याय सहँदैनौं । लुरुलुरु बसिरहने हामी होइन,’ पाण्डेले भने ।
अहिले भौतिक पूर्वाधार मन्त्रालय एकीकृत समाजवादीकै भागमा परेको छ । सो पार्टीका प्रकाश ज्वाला मन्त्री छन् । सोही मन्त्रालयअन्तर्गत विनियोजन भएको बजेटबारे पार्टीका उपाध्यक्ष पाण्डेले आपत्ति जनाएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीलाई सरकारमा सामेल गराउनै लागेका बेला एकीकृत समाजवादीले सरकार छाड्ने चेतावनी दिएको हो । अहिले संसदमा बजेटमाथिको छलफल जारी छ ।
आजै राष्ट्रियसभाले बजेट पारित गर्ने कार्यसूची छ । यतिबेला अर्थमन्त्री डा.प्रकाशशरण महतले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिइरहेका छन् ।
उनले जवाफ दिएपछि बजेटलाई निर्णयार्थ पेस गरिने भएको छ । तर, एकीकृत समाजवादीले बजेटमा निहुँ खोजेपछि प्रधानमन्त्री प्रचण्ड फेरि रन्थनिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।