काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको छ।
दुई दिनअघि नै मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको हो । तर बिहीबार मात्र मिडियामा सार्वजनिक भएको हो ।
काठमाडौं महानगरपालिकाका एक कर्मचारीले मेयर साह भारतको बैंगलोरमा भए पनि कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको जानकारी दिए ।
बालेन श्रीमतीको उपचारका लागि बैंगलोरमा रहेको बताइन्छ । भारत जानुअघि बालेनले आफू आउनुअघि नै कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न निर्देशन दिएअनुसार उनी बस्ने कुर्सी पछाडि नक्सा राखिएको छ ।
भारतले आफ्नो नयाँ संसद् भवनमा अखण्ड भारतको नक्सा राखेको छ । जसमा नेपालको कपिलवस्तु, लुम्बिनी र विराटनगर समावेश छ । भारतले यसलाई सांस्कृतिक नक्सा भनेर जवाफ दिएको छ ।
नेपाल सरकारले औपचारिक रूपमा कुनै धारणा सार्वजनिक गरेको छैन । काठमाडौंका मेयर बालेन्द्र साहले भने सरकारकै धारणा आउनुअघि सुरुमै आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।
धरानका मेयर हर्कराज साम्पाङ राईले पनि आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने घोषणा गरेका छन् । उनले बालेनले ग्रेटर नेपालको नक्सा राखेकोमा धन्यवाद दिँदै अब धरानको मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिने सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
अब विस्तारै अन्य स्थानीय तहमा पनि यसको अनुशरण हुने प्रबल सम्भावना छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।