काठमाडौं - गायक सीडी विजय अधिकारीले स्थानीय निर्वाचनमा स्वतन्त्रबाट मेयरमा विजयी तीनजनालाई समर्पित गर्दै नयाँ गीत ‘बधाई छ हर्क बालेन गोपाल’ सार्वजनिक गरेका छन् ।
जुन गीत शुक्रबार राति युट्युब च्यानलमा समेत रिलिज गरिएको छ । नेपाल भ्वाइसका विजेता समेत रहेका अधिकारीले काठमाडौं महानगर प्रमुख बालेन साह, धरान उपमहानगर प्रमुख हर्क साम्पाङ राई र धनगढी उपमहानगर प्रमुख गोपाल हमाललाई समर्पित गरेर गीत तयार गरेका छन् ।
जसमा उनीहरूलाई युवाका आशा र भरोसाका रूपमा चित्रित गरिएको छ । अबको पाँच वर्ष आफूले घोषणा गरेका बाचा र प्रतिबद्धता पूरा गर्नसमेत उनले गीतमार्फत भनेका छन् । उनले असल मान्छेले चुनाव जितेकोमा मन खुसी भएको समेत उल्लेख गरेका छन् ।
गायक अधिकारीको गीतको पहिलो अन्तरामा भनिएको छ, ‘पूर्वमा हर्क मध्यमा बालेन पश्चिममा गोपाल, खोज्दैछिन् यस्तै सपूतहरू आमा नेपाल’ ।
ठूला दलहरूलाई चुनौती दिँदै स्वतन्त्रबाट मेयरमा निर्वाचित हुन सफल बालेन, हर्क र गोपाल नेपाली आमाको सच्चा सन्तान भएको भन्दै उनले सम्पूर्ण नेपालीको आशामा खरो उत्रन भनेका छन् ।
उनले समय कति पनि खेर नफाली जनताको सेवामा लाग्न गीतमार्फत अनुरोध पनि गरेका छन् । गायक अधिकारीले यसअघि चुनावका बेला पनि बालेन साहलाई लौरोमा भोट माग्दै ‘डियर बालेन’ भन्ने गीत सार्वजनिक गरेका थिए । बालेन चर्चित र्यापर पनि हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।