काठमाडौं - काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) को ध्यान अहिले शिक्षा र स्वास्थ्यमा केन्द्रित भएको छ ।
सरकारी तथा निजी अस्पतालले विपन्न वर्गका लागि अनिवार्य निःशुल्क १० प्रतिशत बेड छुट्याउन उनले सूचना नै जारी गरेका थिए ।
नभए उनले त्यस्ता अस्पतालको प्रशासनमा ताला लगाउने चेतावनी दिएका थिए । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई भेटेरै अल्टिमेटम दिएका थिए ।
मन्त्री बस्नेतले मन्त्रालयलाई सूचना निकाल्न लगाएरै निजी तथा सरकारी स्वास्थ्य संस्थालाई विपन्नका लागि १० प्रतिशत बेड छुट्याउन निर्देशन दिएका छन् ।
उनी यो कामका लागि दिनरात लागिरहेका छन् । केही दिनअघि काठमाडौं महानगर प्रमुख बालेनले निजी विद्यालयलाई विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिएको सूची सार्वजनिक गर्न निर्देशन दिएका थिए ।
यदि छात्रवृत्ति उपलब्ध गराएको विवरण नपठाए सबै विद्यालयको नाम सार्वजनिक गरिदिने चेतावनी दिएका थिए । तर धेरै विद्यालयले छात्रवृत्तिको विवरण उपलब्ध नगराएपछि बालेनले मंगलबार त्यस्ता विद्यालयको सूची सार्वजनिक गरिदिएका छन् ।
काठमाडौं महानगरपालिकाले गत जेठ १० गते १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न र त्यसको विवरण वेबसाइटमा प्रकाशित गर्न भनेको थियो।
त्यसअनुसारको विवरण पेस नगर्ने ३४२ वटा विद्यालयको सूची प्रकाशित गरेको छ। ती विद्यालयलाई जेठ २८ गतेभित्र छात्रवृत्ति उपलब्ध गराएको विवरण पठाउन र प्रकाशित गर्न अन्तिम समयसीमा महानगरले दिएको छ।
जेठ २८ गतेसम्म पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ अनुसार विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द अथवा प्रचलित कानूनबमोजिम हदैसम्मको कारबाही गर्ने जानकारी पनि दिएको छ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।