काठमाडौं - काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले कानुनअनुसार छुट सुविधा नदिने ६८ स्वास्थ्य संस्थाको सूची स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई बुझाएका छन् ।
बुधबार बिहान स्वास्थ्यमन्त्री बस्नेतलाई भेटेरै बालेनले कानुनी कारबाहीको दायरामा ल्याउन आग्रह गरेका छन् । सात दिनभित्र स्वास्थ्यमन्त्रीले कानुनी दायरामा नल्याए महानगरले प्रशासन बन्द गर्ने चेतावनीसमेत उनले दिएका छन् ।
विपन्न एवं लक्षित वर्गलाई अस्पतालले कानुनबमोजिम पाउनुपर्ने सुविधा उपलब्ध नगराएका अस्पताल प्रशासन बन्द गर्ने बालेनले चेतावनी दिएका हुन् ।
‘यदि मन्त्रीज्युले सात दिनभित्र उहाँहरूलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौँ,’ उनले बुधबार सामाजिक सञ्जालमा लेखेका छन् ।
स्वास्थ्यमा सर्वसाधारणको पहुँच अभिवृद्धि गर्दै सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुनअनुसार नागरिकले पाउने स्वास्थ्यसम्बन्धी छुट सुविधाहरु उपलब्ध गराउनेतर्फ सुविधा उपलब्ध नगराएका अस्पतालको विवरण दिएर मन्त्रीको ध्यानाकर्षण गराएको पनि उनले उल्लेख गरेका छन् ।
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरुले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्यसम्बन्धी कानुन अनुसार विपन्न एवं लक्षित वर्गहरुलाई दिनुपर्ने कुल शैयाको १० प्रतिशत छुट्याई निःशुल्क उपचार गर्नुपर्नेलगायतका स्वास्थ्य सुविधाहरु उपलब्ध गराउने सम्बन्धमा जेठ ६ गते सार्वजनिक सूचना जारी गरिसकेको छ ।
नेपालको संविधान र प्रचलित कानुनले आधारभूत स्वास्थ्यसम्बन्धी मौलिक हक राज्यले प्रत्याभूति गर्नुपर्ने र सो अधिकारको कार्यान्वयन गर्ने दायित्व तीनै तहको सरकारको रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।