काठमाडौं- बारा २ का मतदाताले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई उपेन्द्र यादवको मुख्य प्रतिस्पर्धीको रुपमा हेरेका छन्। हुन त मंसिर ४ को निर्वाचनमा बारा २ मा प्रत्यक्षतर्फ जसपाका उम्मेदवार संघीय संसदमा विजयी हुँदा यो क्षेत्रबाट समानुपातिक मत पनि सबैभन्दा धेरै जसपाले नै पाएको थियो।
फेरि यतिबेला उपेन्द्र यादव बारा २ मा सत्तारुढ गठबन्धन कांग्रेस, माओवादी केन्द्र, लोसपा र नेकपा (एकीकृत समाजवादी) का साझा उम्मेदवार भए पनि ढुक्क हुन सकेका छैनन्। उपेन्द्रले जातीय मत ल्याउनका लागि यादव एक ठाउँमा उभिनुपर्ने नारा लगाए पनि त्यो प्रत्युत्पादक बनेको छ।
चुनावमा यादवविरुद्ध गैरयादव समुदायबीच अघोषित कार्यगत एकता भएको छ। यादवविरुद्ध गैरयादव समुदाय एक भएपछि अघिल्लो निर्वाचनमा थोरै मतान्तरले पराजित बनेका शिवचन्द्र कुशवाहाको पक्षमा पल्ला भारी हुने आँकलन गरिएको छ।
जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहा आफैंले उपेन्द्र यादवविरुद्ध जातीय गठबन्धन बन्न सक्ने बताएका छन्। ‘यो क्षेत्रमा यादव समुदायका मतदाताको संख्या जम्मा २२/२५ हजार छ। अन्य अल्पसंख्यक जातिको संख्या झण्डै ८० हजार छ,’ कुशवाहाले भने, ‘फेरि सबै यादवले उपेन्द्रलाई नै मतदान गर्छन् भन्ने छैन। यादवभित्रकै उत्पीडित वर्ग समुदायका मतदाताले मलाई मतदान गर्नुहुन्छ भन्ने विश्वास छ।’
कुशवाहाले बारा २ का सबै माओवादी नेता कार्यकर्ता आफ्नो साथमा रहेको दाबी गरे। ‘यहाँ उपेन्द्रलाई मतदिने पक्षमा कुनै पनि माओवादी छैनन्। सबै माओवादी नेता कार्यकर्ता मेरो चुनावी अभियानमा जोडिनु भएको छ। यहाँ प्रचण्ड नै आएर भाषण गरे पनि केही फरक पर्दैन।’
चुनाव प्रचारको क्रममा शिवचन्द्र कुशवाहासहितका उम्मेदवारले उपेन्द्रलाई बाहिरिया उम्मेदवार, सप्तरीमा हारेर यता आएको, १५ वर्षदेखि लगातार संसद र सरकारमा रहँदा पनि मधेशी जनताको पक्षमा सिन्को नभाँचेको जस्ता आरोप लगाउने गरेका छन्।
पार्टीको माथिल्लो निकायले उपेन्द्रलाई समर्थन गरे पनि माओवादीका कतिपय स्थानीय नेता कार्यकर्ता खुलेरै शिवचन्द्रको पक्षमा लागेका छन्। उनीहरु उपेन्द्रकै योजनामा गौर हत्याकाण्ड भएको भन्दै मतदान गर्न नहुने अभियानसमेत चलाइरहेका छन्।
यादवले आफ्ना सबैभन्दा सशक्त प्रतिस्पर्धीको रुपमा हेरेका कुशवाहा आफूलाई बारा २ को धर्तीपुत्र भन्दै निर्वाचनमा होमिएका छन्। ०७४ को निर्वाचनमा हालका उपराष्ट्रपति रामसहाय प्रसाद यादव २८ हजार भन्दा धेरै मत ल्याएर जसपाबाट विजयी भएका थिए।
त्यतिबेला शिवचन्द्रले १० हजार ६ सय मत ल्याएका थिए। तर, गएको निर्वाचनमा रामसहाय यादव विजयी भएपनि उनको मत आधाभन्दा धेरै घटेको छ। ‘मंसिर ४ को निर्वाचनमा जसपाको मत अघिल्लो निर्वाचनको तुलनामा ५० प्रतिशतभन्दा धेरैले घटेको छ,’ कुशवाहाले भने, ‘०७४ को निर्वाचनको भन्दा यो क्षेत्रमा कांग्रेसको मत पनि घटेको छ, तर मेरो मत विगतको भन्दा बढेको छ। यो म प्रतिको जनआकर्षणकै कारणले हो। म यहिँको धर्तीपुत्र हुँ। जनताको भावना मप्रति छ। अब मेरो विजय यात्रालाई सप्तरीबाट यता आएका उपेन्द्र यादवले रोक्न सक्नुहुन्न।’
बारा २ मा एक लाख ५ हजारभन्दा धेरै मतदाता छन्। जसमा यादव समुदायका मतदाता सबैभन्दा बढी छन्। तर, बहुमतमा यादव पनि छैनन्। मधेशमा जातीय कारणले पनि चुनावमा मत प्रभावित हुने गरेको छ। मधेशका अन्य जातीय समुदायले कतिपय अवस्थामा यादव समुदायबाट हेपिएको, शोषणमा परेको महशुस गर्दै आएका छन्। त्यसको प्रभाव पनि बारा २ को निर्वाचनमा पर्ने देखिन्छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।