बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कांग्रेसबाट मन्त्री बनेका खड्का, महत र रिजालको यस्तो छ राजनीतिक इतिहास

कांग्रेसबाट मन्त्री बनेका खड्का, महत र रिजालको यस्तो छ राजनीतिक इतिहास

  • मिडिया डबली
  • शुक्रवार, चैत्र १७ २०७९

  • 4.4K
    SHARES

  • कांग्रेसबाट मन्त्री बनेका खड्का, महत र रिजालको यस्तो छ राजनीतिक इतिहास

    काठमाडौं- नेपाली कांग्रेसबाट चारजना मन्त्री बनेका छन् । जसमा पार्टी उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा.प्रकाशशरण महत, केन्द्रीय सदस्यद्वय रमेश रिजाल र सीता गुरुङ छन् । चारैजना पार्टी सभापति शेरबहादुर देउवा निकटस्थ हुन् । 

    नेपाली कांग्रेसका उपसभापति खड्का पार्टीको नेतृत्व गर्दैै सरकारमा गएका छन् । सात वर्षअघि खड्काले आफू अब मन्त्री नबन्ने घोषणा गरेका थिए । कांग्रेस सभापति सुशील कोइराला हुँदा खड्का सहमहामन्त्री थिए । तर त्यसबेला उनले अब मन्त्री बन्दिनँ भनेपछि हालका कांग्रेस सभापति शेरबहादुर देउवा निकै रिसाएका थिए । 

    कतिसम्म भने देउवा र खड्काबीच त्यसपछि लामै समय राम्रो सम्बन्ध भएन । खड्कासँग सम्बन्ध चिसिएपछि देउवाले नेता विमलेन्द्र निधिलाई नजिक बनाए । आफूलाई पार्टी सभापति बनाउने बेला खड्काले मन्त्री बन्दिनँ भनेपछि देउवा रिसाएका थिए । तर १३औं महाधिवेशनमा पूर्णबहादुर खड्काकै सहयोगमा देउवा सभापतिमा निर्वाचित भए । त्यसपछि खड्का र देउवाको सम्बन्ध पुनः सुध्रिएको हो ।

    कांग्रेसको १३औं महाधिवेशनपछि भने खड्का निरन्तर देउवाको साथमा छन् । बरु विमलेन्द्र निधिले गुट फेरे । १४औं महाधिवेशनमा निधि सभापतिमा उठे । त्यसबेलादेखि देउवा र निधिको सम्बन्ध चिसिएको मात्र होइन, हार्दिक छैन । दोस्रो चरणको सभापतिको मतदानमा निधिले देउवालाई समर्थन गरेका थिए । जसको गुण देउवाले प्रतिनिधिसभा सदस्यमा समानुतिक प्रणालीबाट निर्वाचित गरिदिए ।

    अबदेखि मन्त्री नबन्ने घोषणा गरेका खड्का अहिले उपप्रधानसहित रक्षामन्त्री बनेका छन् । उनको हातका सुरक्षासँग सम्बन्धित मन्त्रालय परेको छ । यसअघि नौपटकसम्म मन्त्री भइसकेका खड्काले गृह मन्त्रालयसमेत सम्हालिसकेका छन् । गृहमन्त्री हुँदा पनि उनी निर्विवाद भएर निस्किएका थिए ।

    जंगी स्वभावका खड्काको भागमा पनि सेना हेर्ने रक्षा मन्त्रालय नै परेको छ । आजसम्म मन्त्री बन्दा पनि कतै विवाद र अनियमिततामा नपरेका खड्का उपप्रधानमन्त्रीमा बढुवा भएकोमा कांग्रेसीजन खुसी देखिएका छन् । प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसलाई प्रवेश गराउने प्रमुख खेलाडी खड्कालाई नै मानिन्छ ।

    कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महत अर्थमन्त्री बनेका छन् । देशको समग्र अर्थतन्त्र बिग्रेका बेला महतले स्टेयरिङ समाएका छन् । अघिल्लो साढे तीन वर्षको कम्युनिस्ट सरकारमा युवराज खतिवडा र विष्णु पौडेल, त्यसपछि माओवादीका नेता जनार्दन शर्मा र मंसिरको निर्वाचनपछि एमालेकै विष्णु पौडेल अर्थमन्त्री बनेका थिए । कांग्रेसले ६ वर्षपछि अर्थ मन्त्रालय पाएको हो । ज्ञानेन्द्रबहादुर कार्कीपछि महत अर्थमन्त्री बनेका हुन् । नेपालको अर्थतन्त्रको जग कांग्रेसकै अर्थमन्त्री डा.रामशरण महत भएका बेलादेखि हो । प्रकाशशरण रामशरणकै भाइ हुन् । उनी अहिले कांग्रेसका प्रवक्ता हुन् । उनी समानुपातिक कोटाबाट सांसद बनेका हुन् ।

    डा. महत नेपाल विद्यार्थी संघको महासचिव थिए । कांग्रेसको नेतृत्वमा सुरु भएको २०४६ सालको जनआन्दोलनमा उनले एक्सन कमिटीमा रहेर काम गरेका थिए । ०५५÷५६ देखि नेपाली कांग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गर्ने मौका पाएका महत ०५९ देखि निरन्तर कांग्रेसको केन्द्रीय सदस्य छन् । ०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन र ०७९ को मंसिरमा सम्पन्न प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनमा पार्टीको केन्द्रीय प्रचारप्रसार समितिको संयोजकको भूमिका सफलतापूर्वक सम्पन्न गरेका हुन् । ०६३ को अन्तरिम व्यवस्थापिकाको सदस्यको रूपमा व्यवस्थापिकाको यात्रा आरम्भ गरेका डा. महतले पहिलो संविधानसभा ०६४ देखि ०६९ र दोस्रो संविधानसभा ०७० देखि ०७४ सम्म विधायक बनेका थिए ।
    सरकारले ०५६ मा गठन गरेको माओवादी समस्या समाधान समितिको सदस्य सचिवको जिम्मेवारी निर्वाह गरेका महतलाई प्रधानमन्त्रीले ०५८ देखि ०५९ सम्म सल्लाहकार नियुक्त गरेका थिए । उनी ०५८ चैतदेखि ०५९ असोजसम्म राष्ट्रि«य योजना आयोगको सदस्यमा नियुक्त भएका थिए । उनले ०६१ जेठदेखि ०६१ माघ १९ सम्म परराष्ट्र राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । ०६६ देखि ०६७ सम्म उनी ऊर्जामन्त्री भएका थिए । 

    डा. महतले अमेरिकाको इलिनोइस राज्यको कार्बोन्डेलमा अवस्थित साउथर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी उपाधि हासिल रेका हुन् । उनले सोही राज्यको उर्बाना च्याम्पेनमा रहेको इलिनोइस विश्वविद्यालयबाट नीति अर्थशास्त्र ( पोलिसी इकोनोमिक्स) मा स्नातकोत्तर गरेका छन् । महतले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

    त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दा नेपाली कांग्रेसको पहिलो जननिर्वाचित सरकारले लिएको आर्थिक नीतिमा थेसिस गरेका महतले ‘नेपाली कांग्रेस एन्ड नेसन बिल्डिङ’ नामक पुस्तक पनि लेखेका छन् ।

    कांग्रेस केन्द्रीय सदस्य रमेश रिजाल उद्योगमन्त्री बनेका छन् । मंसिर ४ गतेको निर्वाचनमा रिजाल पर्सा ४ बाट विजयी भएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाका अत्यन्त विश्वास पात्र मानिने रिजाल मधेसमा कांग्रेसका खम्बा नै मानिन्छ । साढे चार दशक लामो राजनीतिक जीवनमा रिजाल पहिलोपल्ट मन्त्री बनेका हुन् । कांग्रेस विभाजित भएर कांग्रेस प्रजातान्त्रिक बन्दा पनि रिजाल देउवासँगै रहेका थिए । 

    उनी २०४८ र २०५१ को संसदीय निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए । २०१५ सालमा संसदका उम्मेदवार रहेका आफ्ना बुबाबाट प्रेरित रिजाल विद्यार्थी अवस्थाबाटै राजनीतिमा संलग्न भएका हुन् । रिजालले कांग्र्रेस पर्सा जिल्ला सचिव र उपाध्यक्षका रूपका काम गरिसकेका रिजाल अहिले मधेस प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । राजनीतिक संघर्षका क्रममा २०२९, २०३० र २०३६ सालमा गरी उनले तीन वर्ष जेल जीवन बिताएका थिए ।

    रिजालले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रका स्नातक गरेका छन् । उनी राजनीतिबाहेक व्यापार र हेल्थ असिस्टेन्टसम्बन्धी तालिममा प्रत्यक्ष–अप्रत्यक्ष सम्बद्ध रहँदै आएका छन् । पछिल्लो समय नेपालमा उद्योग मन्त्रालय पार्टीहरूको प्राथमिकतामा पर्ने गरेको छैन । तर यसपटक कांग्रेसले उद्योग मन्त्रालय आफैंले लिएको छ । अर्थ मन्त्रालय र उद्योग मन्त्रालय आफैंले लिएर यसपटक कांग्रेसले काम गर्ने छनक दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend