काठमाडौं- नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलविरुद्ध टेलिभिजनमा तत्कालीन अध्यक्ष महेन्द्र विष्ट र पछि विभिन्न इन्जिनियरहरुसँग मिलेर घोटाला गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीका चाङ परेका छन्।
नेपाल टेलिभिजनमा तत्कालीन अध्यक्ष महेन्द्र विष्टसँग मिलेर महाप्रबन्धक बलले नेपाल टेलिभिजनका पाँचवटै च्यानलमा स्याटेलाइट ब्यान्डविथ भाडामा लिने विषयमा ठूलो घोटाला गरेको भन्दै अख्तियारमा उजुरी परेको हो।
अख्तियार स्रोतका अनुसार सन् २०२० फेब्रुअरी २६ मा थाइकम स्याटेलाइटको आयु सकिए पनि अवैधरुपमा पूरक सम्झौता गर्दै विचौलियामार्फत काम गराएर महाप्रबन्धक बलले घोटाले गरेको भन्दै उजुरी परेको अख्तियार स्रोतले जानकारी दिएको छ।
स्याटेलाइटमा सन् २०२२ सम्म ३३ करोड ९० लाख ४८ हजार ४५० करोडभन्दा बढी घोटाला गरेको उजुरीमा उल्लेख छ।
त्यसैगरी नेपाल टेलिभिजनको ग्राफिक्स सिस्टम खरिदमा मिलेमतोमा भएको अनियमितता गरेको भन्दै उजुरी परेको हो। ग्राफिक्स खरिदका लागि गरिएको टेन्डरको नियमानुसार हार्डवेयर र सफ्टवेयरको परिक्षण नेपाल टेलिभिजनले किनेको हार्डवेयर र सफ्टवेयरमा एकैसाथ गर्नुपर्ने भए पनि तत्कालीन नायब महाप्रबन्धक दिपकमणि धितालको पहलमा दिल्लीमा मात्र सफ्टवेयर परिक्षण गराएको र एसेप्टेन्सले पनि उक्त खरिदमा हस्ताक्षर नगरेको पाइएको उजुरीमा उल्लेख छ।
उक्त सफ्टवेयर परिक्षण गर्ने कार्य खरिदकर्ता कम्पनी Beehive System LTD ले उपलब्ध गराएको पुरानो हार्डवेयरमा गरिएको थियो र एसेप्टेन्स टेस्ट गर्न गएका टोलीले नेपाल टेलिभिजनले किनेको नयाँ हार्डवेयरमा सफ्टवेयर परिक्षण गर्न नपाइ फर्किएको थियो भने उक्त सिस्टमसँग सम्बन्धित हार्डवेयर समयसीमा पछि भने सिंगापुरबाट मगाई एसेप्टेन्स टेस्टगर्न गएका मध्येबाट दुई जना इन्जिनियरले काठमाडौमै एसेप्टेन्स टेस्ट पूरा गरेका थिए र परीक्षण र स्वीकृति टोलीमध्येका उमेश लोहनीले उक्त टेस्टमा आफ्नो असहमति जनाएका थिए।
यसरी एकै ठाउँमा मागिएको हार्डवेयरमा सफ्टवेयर राखी परिक्षण गर्नु पर्नेमा छुट्टाछुट्टै ठाउँमा उक्त हार्डवेयर तथा सफ्टवेयर परिक्षण गरिएकोले हार्डवेयर र सफ्टवेयरबीच समाञ्जस्यता नहुदा हालसम्म पनि उक्त ग्राफिक्स सिस्टम सञ्चालन हुन नसकेको उजुरीमा उल्लेख भएको अख्तियारका एक अधिकारीले जानकारी दिए।
तर नेपाल टेलिभिजनका महाप्रबन्धक बलले तिनै इन्जिनियरहरुको मिलेमतोमा अहिलेसम्म पनि सञ्चालनमा नआएको ग्राफिक्स सिस्टम नेपाल टेलिभिजन केन्द्रीय कार्यालयबाट प्रसारण हुने तीन वटै च्यानलहरुमा बिना रुकावट प्रयोग भइरहेको भनि गलत र भ्रामक पत्रसमेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाएको पाइएको छ। अख्तियारजस्तो संस्थालाई गुमराहमा राख्दा पनि अख्तियार भने मौन बसेको छ।
बिहाइभसँग ग्राफिक्स सिस्टमको खरिद गर्दा नेपाल टेलिभिजनलाई आवश्यकता पर्ने भन्दा बढी हार्डवेयर र सफ्टवेयर लाइसेन्स खरिद गरि टेन्डरको मुल्य बढाउने कार्य गरेको र करोडौं घोटाला गर्दा पनि अख्तिायरले छानबिन नगरेकोप्रति प्रश्न उठेको छ।
उक्त ग्राफिक्स सिस्टमसँग डाटा प्रजेन्टेसनको लागि आएको आईप्याडहरु संलगन इन्जिनियरहरुले आ-आफ्नो घरमा प्रयोग गर्दै आएका छन्।
त्यसैगरि उक्त सिस्टम खरिद गर्दा टच स्क्रिन डाटा प्रजेन्टेसन सफ्टवेयर खरिद गरिएको थियो तर त्यससँग सम्बन्धित हार्डवेयर खरिद नगर्दा हालसम्म उक्त सफ्टवेयर प्रयोगविहिन रहेको छ भने अगुमेन्टेड रियालिटी पनि हालसम्म प्रयोगमा आउन नसकेको उजुरीमा उल्लेख छ। यसै गरि सोहि ग्राफिक्स सिस्टम संगै खरिद गरिएको भर्चुअल रियालिटीसँग सम्बन्धित उपकरण पटक पटक विग्रने र सर्भर पनि ह्यांग भई नचल्ने हुँदा ३ पटक सम्म उक्त उपकरण मर्मत तथा साटेर चलाउन खोज्दा पनि सफल नभएको पाइएको छ।
नेपाल टेलिभिजनको ३६ औंवार्षिकोत्सवको सन्दर्भ पारि वार्षिकोत्सव कार्यक्रममा उक्त सिस्टम सम्बन्धमा प्रश्न उठ्नसक्ने भएर दुई वर्ष देखि थन्किएर रहेको सिस्टमलाई हतार हतारमा मर्मत गर्न खरिदकर्ता कम्पनीबाट २ जना प्राविधिक झिकाएर मर्मत कार्य गरिए पनि मेसिन सञ्चालन हुन सकेन र प्रधानमन्त्री उपस्थित उक्त लाइभ कार्यक्रम समेत बिग्रिएको थियो ।
नेपाल टेलिभिजनको ग्राफिक्स सिस्टम भन्दा सस्तो मूल्यमा खरिद गरेको एपीवान टेलिभिजन, ग्यालेक्सी फोरके टेलिभिजन, हिमालय टेलिभिजनको ग्राफिक्स सिस्टम राम्रो र आकर्षक देखिन्छ। यसरी घोटाला गर्ने महाप्रबन्धकको विषयमा कुरा उठेपछि सञ्चार मन्त्रालयले पनि स्पष्टिकरण सोध्ने बताए पनि सञ्चार सचिवको संरक्षणमा महाप्रबन्धक टेलिभिजनमा दादागिरी गरिरहेको कर्मचारीहरुले बताउने गरेका छन्।
यसअघि स्याटेलाइड भाडामा भएको घोटालामा सञ्चार सचिव बैकुण्ठ अर्याल पनि संलग्न भएका कारण महाप्रबन्धक बललाई जोगाउन उनी लाग्ने गरेका छन्। महाप्रबन्धक बललाई स्पष्टिकरण सोधिइएपछि आफू पनि सोही घानमा पर्नसक्ने भन्दै सञ्चारसचिव अर्याल डराएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।