काठमाडौँ- कुनै पनि दल वा संगठनमा भिजन भएका व्यक्तिलाई नेतृत्व दिइएन भने कस्तो हालत हुन्छ भनेर हेर्न नेपाल विद्यार्थी संघलाई हेरे पुग्छ । एक वर्षअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पालाई नेविसंघको अध्यक्ष मनोनीत गरेका थिए । कांग्रेसमा संस्थापनइतरबाहेक सबैको शेर्पालाई समर्थन थियो । तर यो एक वर्षमा नेविसंघको संगठन विस्तारभन्दा शेर्पाले इज्जत नै सखाप पारेका छन् ।
झन्डै एक दशकपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । तर स्ववियु चुनावको मुखमै नेविसंघमा भाँडभैलो, कुटपिट, तोडफोडका घटना भएका छन् । नेविसंघकै पूर्वउपाध्यक्ष शिव रिमाल आफ्नै संघका विद्यार्थीको कुटाइबाट अहिले अस्पतालमा उपचार गराइरहेका छन् । यस्तो अवस्था आउनुमा संघका अध्यक्ष शेर्पाकै महत्वपूर्ण भूमिका रहेको नेविसंघका नेता कार्यकर्ता बताउँछन् ।
यतिबेला शेर्पा पार्टीका केही नेताको उक्साहटमा जिल्ला जिल्लामा एकलौटी नेतृत्व मनोनयन गरिरहेका छन् । उनलाई नेविसंघका पूर्वमहामन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्लेलगायतको साथ रहेको बुझिएको छ । शेर्पा र काफ्लेको समूह अहिले हेटौंडामा बसेर स्ववियु चुनावमा कसरी आफू निकटलाई टिकट दिन सकिन्छ भनेर होमवर्कमा लागेको नेताहरु बताउँछन् ।
नेविसंघ केन्द्रीय समितिविहीन छ। कांग्रेसले नेविसंघमा अध्यक्ष शेर्पालाई नियुक्त गरे पनि उनको म्याद सकिन लागेको छ। नेविसंघ केन्द्रीय समितिले पूर्णता नपाइकन स्ववियु चुनाव आएको भन्दै जिल्ला अध्यक्षलगायत विभिन्न पदमा मनोनीत गर्न थालेपछि विवाद भइरहेको छ। संस्थापनइतर समूहले पनि नेविसंघको समानान्तर समिति बनाएर स्ववियु चुनावलगायत तयारी थालेका छन्।
यसैबीच, नेपाली कांग्रेस दोलखाले नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्त गर्न माग गरेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवालाई पत्र पठाउँदै दोलखाका पार्टी सभापति बर्मा लामाले नेविसंघ अध्यक्ष शेर्पालाई बर्खास्त गर्न माग गरेका हुन् । उनले जिल्ला कार्यसमितिले निर्णय गरेअनुसार नेविसंघ जिल्ला सभापति तोक्नसमेत माग गरेका छन्।
पार्टीको सर्वसम्मत सिफारिसलाई बेवास्ता गरी शेर्पाले दोलखामा साधारण सदस्य नै नभएको व्यक्तिलाई नेविसंघको जिल्ला अध्यक्ष मनोनीत गरेको भन्दै बर्खास्त गर्न माग गरिएको हो । ‘पार्टीको जिल्ला तहले गरेको सर्वसम्मत निर्णय र सिफारिस लत्त्याइ व्यक्तिगत स्वार्थ र काठमाडौँतिरको निकटताको आधारमा जिल्ला अध्यक्ष तोक्ने र प्रत्येक जिल्लामा विवाद सिर्जना गर्ने नेविसंघका असक्षम केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई तत्काल बर्खास्त गर्न माग गर्दछौँ,’ बर्माले पठाएको पत्रमा उल्लेख छ।
नेविसंघ केन्द्रीय समितिले जिल्ला अध्यक्षको नाम सिफारिस गर्न पत्र पठाएपछि दोलखा कांग्रेसले सर्वसम्मत रूपमा सौगात थापाको नाम सिफारिस भएको थियो ।तर, दुजाङले अर्कै व्यक्तिलाई अध्यक्ष तोकेर पठाएको आरोप छ ।

यस्तै मकवानपुरमा पनि सह-महामन्त्री महालक्ष्मी उपाध्याय 'डिना'का कारण नेविसंघमा विवाद देखिएको छ। डिनाको इशरामा शेर्पाले नेविसंघ मकवानपुरलाई कमजोर बनाउन भूमिका खेलेको देखिएको छ। नेविसंघका जिल्ला अध्यक्ष शिवप्रसाद खतिवडा पार्टीको जिल्ला सदस्य बनेपछि सुवास सापकोटालाई अध्यक्ष बनाएको र त्यसको जानकारी कांग्रेस मकवानपुर र केन्द्रलाई समेत गराइएको थियो।
तर नेविसंघ अध्यक्ष शेर्पाले संघको साधरण सदस्य समेत नरहेका व्यक्तिलाई जिल्ला अध्यक्ष बनाएको सामाजिक सञ्जाल मार्फत सुनिनँ आएको भन्दै कांग्रेस मकवानपुरले ध्यानाकर्षण भएको जनाएको छ। कांग्रेस मकवानपुरका सभापति वुद्ध लामाले विज्ञप्ती जारी गर्दै नेविसंघ मकवानपुरको अध्यक्ष सापकोटा नै भएको जनाएका छन्। उनले नेविसंघ मकवानपुरलाई कमजोर बनाउन लागेका केन्द्रीय अध्यक्ष शेर्पालाई बर्खास्त गर्नुपर्ने माग समेत गरेका छन्।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।