काठमाडौं - मेडिकल माफिया दुर्गा प्रसाईले विभिन्न बैंकबाट लिएको साढे पाँच अर्ब ऋण नतिर्न नागरिक बचाउ अभियानको नाटक गरेको खुलेको छ ।
झापाबाट सुुरु गरेको अभियान महाकाली पुगेर समापन गर्ने भनिएको छ । झापामा आयोजित कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रभावमा पारेर सहभागी गराएका थिए ।
तर, उनको भित्री स्वार्थबारे कुरा बाहिर आएपछि अहिले उनलाई कारबाही गर्न चौतर्फी माग उठेको छ । प्रसाई संयोजकत्वको अभियानले शनिबार काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेको थियो ।
सो कार्यक्रममा पूर्वराजा शाह आउने भनेर सयौंको संख्यामा मोटरसाइकल र्यालीसमेत निकालिएको थियो । प्रसाईले जुलुसमा आउने मोटरसाइकलका लागि पेट्रोल खर्चसमेत दिएका थिए ।
तर, कार्यक्रममा पूर्वराजा आइदिएनन् । प्रसाईले साढे पाँच अर्ब बैंकको ऋण नतिर्न आफूलाई प्रयोग गर्न खोजेको बुझेपछि पूर्वराजा कार्यक्रममा आइदिएनन् ।
त्यसपछि प्रसाईले राजतन्त्र स्थापना गर भन्ने नारा नलगाउन उर्दी नै जारी गरेका थिए । बैंक तथा वित्तीय संस्थाले चर्को ब्याज उठाएको भन्दै ऋण नतिर्न प्रसाईले देशभरका ऋणीहरूलाई भड्काउन खोजीरहेका छन् ।
कतिसम्म भने बैंकको किस्ता तिर्नुपरेमा आत्मदाहको चेतावनीसमेत दिइएको छ । प्रसाईकै निर्देशनमा सयौं मान्छे त्यसरी खडा गरिएको छ । त्यसैले अहिले आफ्नो ऋण नतिर्न भन्दै प्रसाईले ऋणीलाई भड्काउन खोजेकोमा नेपाल राष्ट्र बैंकले पनि चासो देखाएको छ ।
कतिपय बैंकले प्रसाईलाई अन द स्पट पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन् । हिजो एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रभावमा पारेर बैंक तथा वित्तीय संस्थासँग अर्बौं ऋण लिन सफल भएका प्रसाई अहिले सो ऋण नतिर्न विभिन्न नौटंकी गरिरहेका छन् ।
पूर्वराजालाई काँधमा बोकेर हिँडेपछि एमालेको केन्द्रीय सदस्यसमेत गुमाएका प्रसाई चाँडै जेल जान सक्ने अनुमान गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।