काठमाडौं - नेपाली कांग्रेसमा संसदीय दलको नेता छान्ने विषयमा आन्तरिक छलफल तीव्र भएको छ । संस्थापनबाट सभापति शेरबहादुर देउवा, इतर पक्षबाट नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा दलको नेताका आकांक्षी छन् ।
महामन्त्री थापाले त निर्वाचनअघि नै दलको नेता बनेर प्रधानमन्त्री बन्ने घोषणा नै गरेका थिए । तर कोइराला भने चुनाव जितेपछि मात्र चर्चामा आएका हुन् । देउवा संस्थापनबाट एक्ला दाबेदार हुन् ।
चुनावका बेला प्रधानमन्त्री बन्छु भन्ने डा.शशांक कोइरालाले संसदीय दलको नेताका लागि दाबी गरेका छैनन् । अहिले उनी मौन छन् । बरु उनले दलको नेतामा देउवा नै उपयुक्त भएको अन्तर्वार्ता दिएका छन् । यसले गर्दा उनी दलको नेताको दौडबाट बाहिरिएका छन् ।
रामचन्द्र पौडेल र प्रकाशमान सिंह चुप छन् । उनीहरूले छलफलसमेत चलाएका छैनन् । महामन्त्री थापा र डा.शेखर कोइराला भने समानुपातिक सूचीमा सांसद बन्नेको टुंगो लागेपछि तीव्र ढंगले अघि बढ्ने मनस्थितिमा छन् ।
दुईमध्ये एकजनालाई दलको नेता बनाउनुपर्ने आवाज इतर पक्षमा जबर्जस्त ढंगले उठेको छ । तर, शेखरले भने आगामी महाधिवेशनलाई मध्यनजर गर्दै दलको नेतामा दाबी नगर्ने भन्दै बालुवाटारबाट प्रचार सुरु भएको छ ।
स्रोतका अनुसार अब बन्ने सरकारमा कोइराला परिवारका दुवै नेता शेखर र शशांकलाई मन्त्री बनाउने गरी देउवाले रणनीति बनाएका छन् । जसमध्ये शेखरलाई परराष्ट्रमन्त्री र शशांकलाई कृषिमन्त्री बनाउने चर्चा चलेको छ ।
यदि त्यसो भएमा संसदीय दलको नेतामा देउवा र थापाबीच भिडन्त हुने निश्चित छ । यसपटक दलको नेतामा पराजित भए पनि अबको कांग्रेस महाधिवेशनमा सभापति र संसदीय दलको नेता बन्ने गगनको चाहनालाई कसैले रोक्न सक्ने अवस्था देखिएको छैन ।
अहिले बालुवाटारले गगनलाई दलको नेता बन्नबाट रोक्न कोइराला परिवारका नेता, अन्य नेताहरूलाई विभिन्न आश्वासन दिइसकेको छ । गगन अघि बढ्दा सबैको राजनीतिक भविष्य नै संकटमा पर्ने भएकाले पौडेल, प्रकाशमान, शेखर, शशांक, कृष्णप्रसाद सिटौला एक हुने भन्दै प्रचार सुरु भएको छ ।
कतिसम्म भने शेखर र शशांकलाई देउवाले अर्को महाधिवेशनमा सभापतिमा सघाउने आश्वासन दिएको स्रोतले बतायो । सोही कारण उपसभापति पूर्णबहादुर खड्का असन्तुष्ट बनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।