काठमाडौं - बागमती प्रदेशमा कांग्रेसले सबैभन्दा धेरै २५ सिट जितेको छ । समानुपातिकतर्फ कांग्रेसले १३ सिट प्राप्त गर्ने भएको छ । यसरी कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी ३८ सिट पाउने छ ।
बागमती प्रदेशमा सरकार बनाउन ५६ सांसद चाहिन्छ । यदि सत्तागठबन्धनले निरन्तरता पाएमा धेरै सांसद जितेकाले कांग्रेसले नै मुख्यमन्त्री पाउने निश्चित छ । त्यसैले अहिले कांग्रेसबाट को मुख्यमन्त्री बन्ला भन्ने सर्वत्र चासो छ ।
बागमती प्रदेश सभा सदस्यमा कांग्रेसबाट इन्द्र बानियाँ, बहादुरसिंह लामा, रामकृष्ण चित्रकार, कुन्दनराज काफ्ले, रामकुमार पहाडी, मसिना खड्का, कृष्णबहादुर तामाङ, तीर्थ लामा, कञ्चन वादे श्रेष्ठ, सुरेश श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ, सुरजचन्द्र लामिछाने, विमल ठकुरी, छिरिङ दोर्जे लामा, हरिप्रभा खड्गी, पुकार महर्जन, श्रीराम लामिछाने, श्यामबहादुर खड्का, प्रभात तामाङ, मधुकुमार श्रेष्ठ, मीनकृष्ण महर्जन, उत्तम जोशी, रमेशकुमार महत, गोविन्द लम्साल, छेत्रबहादुर बमजन विजयी भएका छन् । समानुपातिकबाट को को प्रदेश सभा सदस्य बन्दैछन् भन्ने अझै सार्वजनिक भइसकेको छैन ।
अहिले प्रदेश सभामा क्लस्टरअनुसारको सूची बनाउने काम भइरहेको छ । निर्वाचनको नतिजा आएसँगै दलहरूमा अब संसदीय दलको नेता कसलाई बनाउने भन्ने विषयले प्राथमिकता पाएको छ ।
प्रदेश मुख्यमन्त्री बन्न दलको नेता बन्नुपर्ने भएकाले अहिले सबैको नजर को दलको नेता बन्छ भन्नेतिर छ । सबैभन्दा धेरै चासो बागमती प्रदेशमा देखिएको छ । कांग्रेसबाट बागमती प्रदेश सभा संसदीय दलका लागि इन्द्र बानियाँ र बहादुरसिंह लामाको नाम चर्चामा छ ।
बानियाँ कांग्रेस बागमती प्रदेश सभापतिसमेत हुन् । उनलाई कांग्रेसले पहिले नै मुख्यमन्त्रीका रूपमा प्रक्षेपण गर्दै चुनावमा गएको थियो । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका लामा पनि मुख्यमन्त्रीको दौडमा छन् ।
त्यही भएर उनले पनि संसदीय दलको नेता बन्ने इच्छा देखाएका छन् । बानियाँ र लामा दुवै पार्टी सभापति शेरबहादुर देउवा निकट नेता हुन् । दुईमध्ये एकजनालाई दलको नेता बनाउने विषयमा छलफल चलिरहेको छ ।
बानियाँको नाममा कांग्रेसमा खासै विवाद नभए पनि लामाका विषयमा भने कांग्रेस नेताहरू एकमत छैनन् । लामा अहिलेसम्म आफ्नै जिल्लामा मात्र सीमित भएको र बाहिर त्यति सक्रिय नभएको, धेरै नचिनेको र अन्य दलले पनि त्यति विश्वास नगर्ने भएकाले उनलाई दलको नेता बनाउन नहुने मत कांग्रेसमा जबर्जस्त उठेको छ ।
तर, बानियाँ भने कांग्रेसमा मात्र होइन, अन्य दललाई पनि मिलाउन सक्ने क्षमता भएकाले उनलाई नै दलको नेता बनाउनुपर्ने आवाज प्रबल बन्दै गइरहेको छ । बानियाँले पनि आफू नै बागमती प्रदेशको मुख्यमन्त्री बन्ने बताउँदै आएका छन् ।
पार्टी सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का बानियाँलाई मुख्यमन्त्री बनाउनुपर्ने पक्षमा छन् । किनभने बानियाँसँग गृह राज्यमन्त्री बनेर सरकार चलाएको अनुभवसमेत रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।