काठमाडौं - गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरमा बालेन्द्र साह बालेन, धरानमा हर्कराज साम्पाङ र धनगढीमा गोपाल हमालले स्वतन्त्रबाट जितेपछि मंसिरमा हुने संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको लहर नै चलेको छ ।
स्वतन्त्र मत आफ्नो पक्षमा पारेर संसदीय राजनीतिमा पनि धाक जमाउन आइपुगेका रवि लामिछानेले त राष्ट्रिय स्वतन्त्र पार्टी नै गठन गरे ।
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएर १४ हजारभन्दा बढी मत पाएका सुमन सायमीले त हाम्रो नेपाली पार्टी नै गठन गरेर निर्वाचन आयोगमा दर्ता गरे । अहिले उनी त्यही पार्टीबाट चुनाव लडिरहेका छन् ।
उनी अब स्वतन्त्र होइन, दलका उम्मेदवार बनेका छन् । उनकै पार्टीले लौरो अभियान भनेर चुनाव चिन्ह र काठमाडौंका मेयर बालेनको तस्बिर राखेर प्रचार गरेपछि निर्वाचन आयोगले हाम्रो नेपाली पार्टी र बालेनलाई समेत स्पष्टीकरण सोधेको थियो ।
आयोगलाई सोमबार पत्र पठाउँदै बालेनले आफू कुनै पनि दल र अभियानमा संलग्न नरहेको मात्र स्पष्ट पारेनन्, आफ्नो तस्बिर र नाम जोडेर प्रचार अभियान थाल्नेलाई कारबाहीसमेत गरे हुन्छ भनेपछि अहिले लौरो अभियान खुत्रुक्कै भएको छ ।
बालेनको यो पत्रले स्वतन्त्र भन्दै मत आफूतिर तान्नेहरूलाई ठूलो धक्का लाग्ने भएको छ । अब उनीहरूले बालेन, हर्कराज र गोपाल हमालको तस्बिर र नाम प्रयोग गर्न पाउँदैनन् ।
हाम्रो नेपाली पार्टीले बालेनको तस्बिर राख्दै आफ्नो समर्थन हाम्रो पार्टीलाई रहेको र लौरो अभियानलाई जिताउन आग्रह गरेको फ्लेक्स छ्यापछ्याप्ती पारेको थियो । आयोगले सो पार्टीका अध्यक्ष अनन्तराज घिमिरेलाई समेत स्पष्टीकरण सोधेको थियो ।
तर घिमिरेले गोलमटोल जवाफ आयोगलाई दिएका छन् । बालेनको एउटै पत्रले अब उनको नाममा गोरखधन्धा गर्न खोज्ने उत्तानो परेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।