काठमाडौं । गठबन्धन दलका शीर्ष नेतामध्ये पूर्वप्रधानमन्त्री झलनाथ खनाल सबैभन्दा बढी असुरक्षित देखिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सबैभन्दा सुरक्षित छन् । एमाले अध्यक्ष केपी ओलीले कांग्रेस र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले उम्मेदवारसँग प्रतिस्पर्धा गरेर आउनु पर्ने छ । हुन त प्रचण्डको निर्वाचन क्षेत्र गोरखा २ मा एमाले उम्मेदवार अब्दुस मियाँ छन्, तर त्यहाँ गठबन्धनको मत नै ४० हजारभन्दा बढी छ । एमालेको मात्र सात हजार रहेको छ ।
उता खनालको निर्वाचन क्षेत्र इलाम १ मा एमालेका महेश बस्नेत उम्मेदवार छन् । उनी निकै बलिया देखिएका छन् । हुन त सो क्षेत्रमा गठबन्धनको मत धेरै छ । आफ्नै बोलीका कारण खनाललाई गठबन्धनको मत नपर्ने संकेत देखिएको छ । स्थानीय चुनावलगत्तै कांग्रेस र माओवादीलाई गाली गर्दै एमालेसँग एकताका लागि बल गरेको आरोप खेप्दै आएका खनाललाई अहिले त्यही बोली महँगो पर्ने बताउन थालिएको छ ।
उनले स्थानीय चुनावलगत्तै कांग्रेस र माओवादीले एकीकृत समाजवादीलाई भोटर मात्रै बनाएको आरोप लगाएका थिए । जिल्ला समन्वय समितिको चुनावमा इलाममा खनाल एमालेसँग मिलेका थिए । त्यही रिसले अहिले कांग्रेस र माओवादी खनाललाई हराउनुपर्छ भन्दै स्थानीयस्तरमा विरोधमा देखिएको बताइन्छ । गठबन्धन दलका असन्तुष्ट पक्षले अहिले खनाललाई खुलेर सहयोग गरेका छैनन् । मंसिर ४ गतेको चुनावी अभियानमा समेत गठबन्धन दल र तिनका नेताहरू खनालको असहयोगी बनेपछि उनी तनावमा परेका छन् ।
खनालभन्दा बरु एमाले उम्मेदवार बस्नेतलाई असन्तुष्ट पक्षले साथ दिने सम्भावना रहेको बुझिएको छ । चुनावपछि वाम एकताको पक्षमा एमालेसँग मिल्ने कुरामा खनाल सहमत देखिएका छन् । चुनावअघि समाजवादी केन्द्र बनाउने कुरामा सहमति भए पनि माओवादीसँग एकीकृत समाजवादी मिल्ने कुरामा खनाल नै बाधक बनेका छन् । चुनाव जितेमा खनालले राष्ट्रपतिमा दाबी गर्ने भएकाले उनी विजयी नबनून् भन्नेमा माओवादीका केही नेताहरु पनि छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।