काठमाडौं - गठबन्धनका कारण यसपटक कांग्रेसले प्रतिनिधिसभातर्फ ९० र प्रदेशसभातर्फ झन्डै दुई सय स्थानीय तहमा उम्मेदवारी दिएको छ ।
प्रतिनिधिसभाको एक सय ६५ सिटमा बाँकी निर्वाचन क्षेत्रमा तालमेल भएको छ । तीन सय ३० प्रदेश सभामा कांग्रेसले झन्डै ५० प्रतिशत सिट पाएको छ ।
संघीय उम्मेदवार नपाएका निर्वाचन क्षेत्रमा प्रदेशतर्फ र प्रदेश सभा नपाएको क्षेत्रमा कांग्रेसले प्रतिनिधिसभा सदस्य उठाएको छ । एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा कांग्रेसले प्रतिनिधिसभाको उम्मेदवार उठाएको छ ।
यसमध्ये ललितपुर अहिले सबैको चासोको जिल्ला बनेको छ । ललितपुरमा तीन संघीय र ६ प्रदेश सभा निर्वाचन क्षेत्र छ । जसमध्ये कांग्रेसको भागमा ललितपुर १ परेको छ ।
जहाँ कांग्रेसका लोकप्रिय युवा नेता उदयशमशेर राणा उम्मेदवार बनेका छन् । क्षेत्रको विकास निर्माण र पार्टीको संगठन विस्तारमा राणा तीन दशकदेखि क्रियाशील रहँदै आएका छन् ।
२ नम्बर क्षेत्रमा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र ३ मा माओवादीकी पम्फा भुसाल उठेकी छन् । दुवै एमाले उम्मेदवारभन्दा बलिया छन् ।
कांग्रेसले तीनवटै निर्वाचन क्षेत्रका प्रदेशतर्फ सिट पाएको छ । जसमा ललितपुर १ (क) मा युवा नेता मीनकृष्ण महर्जन, २ को (क) मा रिसा श्रेष्ठ र (ख) मा रामकृष्ण चित्रकार तथा ३ को (ख) मा कांग्रेस जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ उम्मेदवार बनेका छन् ।
कांग्रेसका एक प्रतिनिधिसभाका उम्मेदवार राणा र चार प्रदेश सभाका उम्मेदवार श्रेष्ठ, चित्रकार, महर्जन र रिसा श्रेष्ठ निकै लोकप्रिय छन् । कांग्रेसले यसपटक जिल्लामा लोकप्रिय र संगठनकर्तालाई नै उम्मेदवार बनाएकाले पनि उनीहरूको संसद् यात्रा सुनिश्चित बनेको विश्लेषण हुन थालेको छ ।
ललितपुरमा कांग्रेसले अन्तिम समयमा टिकट फाइनल गरेको थियो । दलीय भागबन्डाको बाबजुद पनि कांग्रेसले ललितपुरमा चार प्रदेश सभा सदस्य पाएको छ ।
उम्मेदवार बनेका श्रेष्ठ, चित्रकार र महर्जन एक भएर अहिले निर्वाचनमा होमिएका छन् । जसकारण ललितपुरका कांग्रेसीमा उत्साह थपिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।