काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सप्तरी २ बाट उम्मेदवारी दर्ता गराउँदै निर्वाचित हुने विश्वास व्यक्त गरेका छन्। उपेन्द्रले निर्वाचित हुने विश्वास प्रकट गरे पनि अंक गणितले भने उनलाई कठिन हुने देखिन्छ। स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतका आधारमा सप्तरी २ मा सत्ता गठबन्धन १२ हजार बढी मतले अघि छ।
सत्ता गठबन्धन छोडेर एमालेसँग तालमेल गरेको जसपाले प्रतिनिधिसभामा १७ सिट पाएको छ। जसपाले सत्ता गठबन्धन छोडेसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सत्ता गठबन्धनमा गएको छ।
सत्ता गठबन्धनले सप्तरी २ लोकतान्त्रिक समाजवादी पार्टीलाई छोडेको छ। त्यहाँ लोसपाका जयप्रकाश ठाकुरलेनै उम्मेदवारी दिएका छन्।
२०७४ को चुनावमा यादव २१ हजार ६२० मत ल्याएर निर्वाचित भएका थिए। उनका निकटतम् प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र) का उमेशकुमार यादवले ११ हजार ५८० मत ल्याएका थिए।
नेपाली कांग्रेसले आफ्ना उम्मेदवार सकलदेव सुतिहारलाई पछि हटाएर यादवलाई नै समर्थन गरेको थियो। २०७४ मा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाटै विजयी भएका अध्यक्ष यादवलाई यसपालि गठबन्धन फेरेसँगै कठिन देखिएको छ।सुरक्षित क्षेत्रको खोजी गरेका यादव मधेस प्रदेशका विभिन्न जिल्लाका ८ क्षेत्रबाट सिफारिस भएका थिए।
गत वैशाखमा स्थानीय तह निर्वाचनमा सप्तरी २ का स्थानीय तहमा वडाध्यक्षका उम्मेदवाहरूले प्राप्त गरेको मतका आधारमा सत्ता गठबन्धन निकै अघि छ।
जसपाका वडाध्यक्षले स्थानीय तह निर्वाचनमा १४ हजार ४ सय ३ मत प्राप्त गरेका थिए। एमालेका वडाध्यक्षका उम्मेदवाहरूले ५ हजार ९ सय ५१ मत प्राप्त गरेका थिए। दुई दलको मत जोड्दा २० हजार ३ सय ५४ मत पुग्छ।
यता जसपा र एमालेको मतभन्दा सत्ता गठबन्धनको मत १२ हजार भन्दा बढी रहेको छ। स्थानीय तहको निर्वाचनमा लोसपाका वडाध्यक्षका उम्मेदवाले १० हजार ४ सय ३५ र कांग्रेसका वडाध्यक्षका उम्मेदवाहरूले १० हजार ८ सय ७ मत प्राप्त गरेका थिए।
यस्तै माओवादी केन्द्रबाट वडाध्यक्षमा उम्मेदवारी दिएकाहरूले ९ हजार ५ सय ३४ र एकीकृत समाजवादीका उम्मेदवारहरूले २४ सय ८ मत प्राप्त गरेका थिए।
सत्ता गठबन्धनका वडाध्यक्षका उम्मेदवारहरूको मत ३३ हजार १ सय ८४ छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।