काठमाडौं - भक्तपुर निर्वाचन क्षेत्र २ नेपाली कांग्रेसको गढ भएको क्षेत्र हो । तर एकपटक चुनाव जितेका महेश बस्नेत आफ्नो किल्ला भएको दाबी गर्छन् ।
एमालेले भक्तपुर २ मा जितेको २०७४ को निर्वाचनमा मात्र हो । त्यसअघिका ६ वटा निर्वाचनमा तीनपटक नेपाली कांग्रेस र दुईपटक नेमकिपाले जितेको थियो । तर, अहिले महेश बस्नेत आफूले चुनाव जित्ने भन्दै प्रचार गरेर हिँडेका छन् ।
भक्तपुर २ मा कांग्रेसबाट जगन्नाथ आचार्य, लेखनाथ न्यौपाने र रामेश्वर ढुंगेलले चुनाव जितिसकेका छन् । त्यसैले यसपटक कांग्रेसले चुनाव जित्नेमा जिल्ला सभापति दुर्लभ थापाको भनाइ छ । अहिले एमालेको गढ भनेर प्रचार गरिएकोप्रति थापाले आपत्ति जनाएका छन् ।
‘विकास आज एकैपटक हुने कुरा हैन । क्षेत्र नम्बर २ मा विकासको जुन हौवा फैलाइएको छ, त्यसमा पूर्ण सत्यता छैन । विगतमा कांग्रेसले तयार गरिदिएको आधारलाई फराकिलो पार्ने काम भयो, जुन समाज विकासका लागि राम्रो पक्ष हो ।
यसो भन्दैमा सबै विकासको श्रेय लिने र कांग्रेसले गरेका विकासका काममा समेत गएर रिवन काट्दै उद्घाटन गर्दै प्रचारप्रसार गर्ने काम गरेर विकास आफ्नो गोजीबाट गरेको हल्ला फैलाउने काम एमालेबाट भएको देखिन्छ ।
यहाँ पछिल्लो समय पाँचतले मन्दिरसमेत आफूले बनाएको भन्दै झण्डा गाड्न समेत पछि नपर्ने खालको प्रवृत्ति हावी भएको देखिन्छ,’ थापाले हालै दिएको एक अन्तर्वार्तामा भनेका छन् ।
उनका अनुसार २०१५ सालको निर्वाचनमा पनि नेपाली कांग्रेस विजयी भएको भक्तपुर क्षेत्र नम्बर २ मा २०४८ को आमनिर्वाचनमा कांग्रेसका जगन्नाथ आचार्य, २०५१ को निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका आशाकाजी बासुकला र २०५६ सालको निर्वाचनमा फेरि कांग्रेसकै लेखनाथ न्यौपाने विजयी भएका थिए भने २०६४ को संविधान सभाको पहिलो निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति र २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा कांग्रेसका रामेश्वरप्रसाद ढुंगेल विजयी भएका थिए ।
२०७४ सालको निर्वाचनमा भने नेकपा एमालेका महेश बस्नेत निर्वाचित भएका थिए । त्यसैले यसपटक आलोपालोको परम्पराअनुसार यो निर्वाचनमा कांग्रेसैले नै जित्ने थापा बताउँछन् । उनले भक्तपुर क्षेत्र नम्बर २ गठबन्धनको उम्मेदवारका लागि सबैभन्दा सुरक्षित निर्वाचन क्षेत्र भएको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।