काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति तोकिएसँगै काठमाडौं, ललितपुर र भक्तपुरमा सभापतिका दाबेदारको संख्या बढ्न थालेको छ ।
काठमाडौंमा अहिलेसम्म आधा दर्जन आकांक्षी अगाडि देखिएका छन् । काठमाडौंमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलानिकट नेता भीमसेनदास प्रधानको प्रभाव छ । अघिल्ला महाधिवेशनमा देउवा समूह निर्णायक हुँदै आएको छ ।
१४औँ महाधिवेशनमा सभापतिका लागि वर्तमान जिल्ला सभापति सबुजकृष्ण बानियाँसहित, क्षेत्र नम्बर २ का सभापति उपेन्द्र कार्की, क्षेत्र नम्बर ४ का सभापति राजु श्रेष्ठ, कृष्णजी खड्का, हरिहर अधिकारी, दामोदर खड्का र गौरी दवाडी आकांक्षी छन् ।
बानियाँले अघिल्लोपटक देउवा समूहको सहयोगमा सभापति जितेका थिए । कार्की, श्रेष्ठ र खड्का तीनैजना सभापति देउवानिकट हुन् । अधिकारी र दवाडी नेता प्रधाननिकट हुन् ।
ललितपुरमा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहको बलियो प्रभाव छ । वर्तमान सभापति मदन अमात्यले दोस्रो कार्यकाल पूरा गर्दै छन् । यसपटक देउवा समूहबाट मीनकृष्ण महर्जन, गजेन्द्र महर्जन र प्रकाशनन्दन जोशी आकांक्षी छन् ।
तर, सबैभन्दा बलिया दाबेदार मिनकृष्ण महर्जन नै देखिएका छन् । उनी महासमिति सदस्य हुन् । मिनकृष्णलाई उदयशमशेर राणालगायतको समर्थन छ ।
गजेन्द्र महर्जन क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति एवं गोदावरी नगरपालिकाका मेयर हुन् । देउवाइतर समूहबाट रामकृष्ण चित्रकार, जितेन्द्रकुमार श्रेष्ठ, मथुराप्रसाद घिमिरे र खुमप्रसाद घिमिरे आकांक्षी छन् ।
संविधानसभाका सदस्य भइसकेका चित्रकार महासमिति सदस्य हुन् । उनले अघिल्लोपटक अमात्यलाई सहयोग गरेका थिए । कोइराला परिवारसँग नजिक घिमिरे १०औँ र १२औँ महाधिवेशनमा सभापतिका प्रत्यासी थिए ।
अर्का खुमप्रसाद घिमिरे भने क्षेत्र नम्बर १ का पूर्वक्षेत्रीय सभापति हुन् । भक्तपुरमा वर्तमान सभापति दुर्लभ थापा पुनः दोहोरिन चाहेका छन् । उनी सभापति शेरबहादुर देउवानिकट हुन् ।
त्यही टिमबाट पूर्वसभापति गणेश चक्रधर, अष्टकुमार कवे, महेश श्रेष्ठ, विनोद कायस्थ र विदुरमानसिंह बस्नेत आकांक्षी छन् । कवे १३औँ महाधिवेशनमा थापासँग पराजित थिए ।
उनी मध्यपुर थिमि नगरपालिकाको मेयरमा पनि पराजित भए । नेता कृष्णप्रसाद सिटौलानिकट श्रेष्ठ पूर्वसभापति हुन् । कायस्थ नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष भइसकेका नेता हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।