काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निमन्त्रणामा झापा पुगेका दुबईका राजपरिवार सदस्यका औपचारिक कार्यक्रममा गृहमन्त्रालयले रोक लगाएको छ। दुबईका राजपरिवारका सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमको सबै औपचारिक कार्यक्रम गृह मन्त्रालयले रोकेको हो ।
गृह मन्त्रालय उच्च स्रोतका अनुसार सरकारी संयन्त्रको जानकारीबिना औपचारिक कार्यक्रममा सहभागी भएको भन्दै उनी सहभागी हुने भनिएका कार्यक्रमहरुमा रोक लगाइएको हो । माक्तुम जुमा तीन दिने नेपाल भ्रमणका लागि शनिबार काठमाडौं आएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने वित्तिकै उनी झापा गएका थिए ।
झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले दुबईका राजपरिवार सदस्य माक्तुमको पूर्वनिर्धारित कार्यक्रमहरुमा रोक लगाइएको बताए। परराष्ट्र मन्त्रालयले पनि माक्तुमको नेपाल भ्रमणबारे औपचारिक जानकारी नभएको जनाएको छ । परराष्ट्र मन्त्रालयकी सहायक प्रवक्ता रिता दाहालले दुबईको राजपरिवारका सदस्य नेपाल आएको भन्ने बाहेक कुनै पनि जानकारी नभएको बताइन् ।
शनिबार माक्तुमले विर्तामोडमा प्रसाईंले सञ्चालन गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान मेसिनको शुभारम्भ गरेका थिए । त्यो कार्यक्रम निजी भएकाले त्यहाँ उनको उपस्थितिलाई सामान्यरुपमा लिइएको रिजालले बताए । माक्तुमले विमानस्थलमा उत्रिएलगत्तै व्यवसायी प्रसाईंलाई सुनको जस्तो देखिने लौरो उपहार दिएका थिए । जुन उपहार अहिले विवादित बनेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।