काठमाडौं - आफूलाई आदर्शवादी नेता ठान्ने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि महिला विरोधी देखिएका छन् ।
सरकारमा सामेल एक महिला मन्त्रीलाई फिर्ता बोलाएर उनले सबै पुरुष नेतालाई मात्र मन्त्री बनाएका छन् ।
६ महिनाअघि रामकुमारी झाँक्रीलाई मन्त्री बनाउँदा नेपालको राजनीतिक उचाइ निकै बढेको थियो । अहिले झाँक्री जस्तो जुझारु नेतृलाई उनले मन्त्रीमा निरन्तरता दिन सकेनन् ।
एकीकृत समाजवादीको सचिवालय बैठकले ६ महिना पुगिसकेका मन्त्रीहरूलाई फिर्ता गरेर आइतबार पाँचजना मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको थियो । उनीहरूले आज राष्ट्रपति विद्यादवेी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम छ ।
एकीकृत समाजवादीले बहालवाला मन्त्रीलाई फिर्ता गरेर नयाँ मन्त्री सिफारिस गर्दा महिला नपरेको भन्दै उक्त पार्टीका महिला सांसदहरूले विरोध जनाएका छन्।
सो पार्टीकी सांसद लक्ष्मी चौधरीले पार्टीमा केन्द्रीय पदाधिकारी, विभाग, संसदीय समितिको नेतृत्व गरेका एकसे एक महिला नेता हुँदा पनि मन्त्रीका लागि सिफारिस नगरिएको भन्दै आपत्ति जनाएकी छन्।
उनले मन्त्री छान्दा किन पुरुष मात्र ? भनेर प्रश्न गरेकी छ्न्। भूगोलसमेत नमिलेको उनको भनाइ छ। ‘अनुभव र अध्ययनका दृष्टिले हेर्दा प्राज्ञ महिलाहरु पनि पार्टी केन्द्रमा हुनुहुन्छ। जिम्मेवारी पाएका बखत सशक्त भूमिका देखाएका छन्।
पार्टीपंक्तिमा महिलाको सक्रियता र उपस्थिति गर्विलो छ,’, चौधरीले फेसबुकमा लेखेकी छन्, ‘तर, मन्त्री छान्दा किन पुरुष मात्र ? न भूगोल मिलेको छ न समावेशिता ।
यसैगरी समाजवाद आउने कसरी ? पुनश्चः म व्यक्तिगत रुपमा मन्त्रीको दौडमा थिइनँ, र छैन। तर सगर्व भन्छु, मन्त्री बन्न योग्य महिला नेताको हाम्रो पार्टीमा कमी छैन ।’ मन्त्रीमा गरेको हेरफेरमा महिलाको नाम नपरेको भन्दै एकीकृत समाजवादकी भ्रातृसंगठन अनेमसंघ (समावजादी)ले पनि आपत्ति जनाइसकेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।