काठमाडौं - स्थानीय तहको निर्वाचनअघि एमाले महासचिव शंकर पोखरेलले विभिन्न स्थानमा भाषण गर्दा एकीकृत समाजवादीले आफ्नो पार्टीको भोट नकाट्ने दाबी गर्दै आएका थिए ।
पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, गोकुल बासकोटाले माधव नेपाल नेतृत्वको पार्टीका कारण चार प्रतिशत मत प्रभावित भए पनि आफ्नो पार्टीले ६० प्रतिशत स्थानीय तह जित्ने दाबी गरेका थिए ।
तर, एकीकृत समाजवादीकै कारण एमालेले धेरै ठूलो हार बेहोरेपछि अहिले शंकर पोखरेल सार्वजनिक कार्यक्रममा देखिन छाडेका छन् । तर, पार्टी विभाजनका कारण एमालेले २०७४ को स्थानीय चुनावभन्दा अहिले प्रमुख पदमा ८९ सिट गुमाएको छ ।
चुनावी प्रतिस्पर्धामा एकीकृत समाजवादीले थोरै मत काट्दा एमालेले धेरै स्थानमा हार बेहोरेको छ । एकीकृत समाजवादीसँगको चुनावी प्रतिस्पर्धाको कारण कम्तीमा ५४ स्थानीय तहको प्रमुख तथा उपप्रमुखमा चुनावी परिणाममा प्रत्यक्ष असर देखिएको छ ।
एमाले र एकीकृत समाजवादीका उम्मेदवारहरुले एकले अर्काको मत काट्दा ती स्थानीय तहको प्रमुख वा उपप्रमुख गुमाएका छन् । यो सूचीमा एकीकृत समाजवादीको माओवादी केन्द्रबीच नौ स्थानीय तह र कांग्रेससँग एक स्थानीय तहमा गठबन्धन भएका १० वटा पालिका परेका छन् ।
एमाले र नेपाली कांग्रेस (बीपी) बीच दुई स्थानीय तहमा गठबन्धन परेको छ । एकले अर्को मत काट्दा ३० जना प्रमुख तथा ३७ जना उपप्रमुख एमाले र एकीकृत समाजवादी पार्टीले गुमाएका छन् ।
जसमा एमाले र एकीकृत समाजवादीको प्रतिस्पर्धाको कारण १६ वटा स्थानीय तहको प्रमुख तथा उपप्रमुख दुबै गुमाएका छन् । धनुषाको लक्ष्मिनिया गाउँपालिका, कमला नगरपालिका, धनौजी गाउँपालिका, बटेश्वर गाउँपालिका, सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका, रौतहटको ईशनाथपुर नगरपालिका, चन्द्रपुर नगरपालिका, फतुवा विजयपुर नगरपालिका, गुजरा नगरपालिका, माधवनारायण नगरपालिका छन् ।
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका, अछामको ढकारी गाउँपालिका, दैलेखको महावु गाउँपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, कालीकोटको शुभकाली गाउँपालिका र डोल्पाको ठूलो भेरी गाउँपालिका पनि एकीकृत समाजवादीकै कारण एमालेले गुमाएको छ । विभाजनको सबैभन्दा ठूलो असर मधेस प्रदेशमा देखिएको छ ।
धनुषा र रौतहट जिल्लामा एमाले र एकीकृत समाजवादीबीच विभाजन हुँदा क्रमशः ७ र रौतहटमा ५ स्थानीय तह गुमाएको छ । गत भदौमा एमालेबाट अलग्गिएर पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भएको थियो ।
हालसम्म सार्वजनिक भएका ७ सय ५२ स्थानीय तहमा कांग्रेसले ३ सय २९ स्थानीय तहको प्रमुख वा अध्यक्ष जित्दै पहिलो भएको छ भने दोस्रो स्थानमा रहेको एमालेले २ सय ५ स्थानीय तहमा जीत हासिल गरेको छ ।
त्यसैगरी माओवादी केन्द्रले १ सय २१, जनता समाजवादी दल (जसपा)ले ३०, एकीकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले १६ स्थानीय तहको नेतृत्वमा जीतेको छ । स्वतन्त्रसहित विभिन्न दलहरुले ३१ स्थानीय तहको प्रमुख जितेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।