काठमाडौं - गत बुधबार जसपा अध्यक्ष उपेन्द्र यादव र अध्यक्ष केपी ओलीबीच अकस्मात भेटवार्ता भयो । आफ्ना छोरा उपमेयरमा हारेपछि भाउन्न भएका उपेन्द्र ओलीलाई भेट्न बालकोट नै पुगेका थिए ।
कांग्रेस र माओवादीबाट धोखाधडी भएको भन्दै गठबन्धन टुटाउने खेलमा उपेन्द्र लागेका छन् । जसकारण उपेन्द्र अहिले सत्तारुढ गठबन्धनसँग असन्तुष्ट भएका छन् ।
छोरा अमरेन्द्र यादव विराटनगरपालिकाको उपमेयरमा हारेपछि उपेन्द्र कांग्रेस र माओवादी केन्द्रसँग आगो भएका हुन् ।
कांग्रेसका मेयरका उम्मेदवार नागेश कोइरालाले सानदार मत ल्याएर जित्ने, तर त्यही गठबन्धनमा रहेका आफ्ना छोरा चाहिँ पराजित हुनुले अन्तर्घात भएको भन्दै उपेन्द्र गठबन्धन टुटाउन सक्रिय भएर लागेको विश्लेषण गर्न थालिएको छन् ।
एमाले अध्यक्ष ओली जुनसुकै हतकण्डा अपनाएर भए पनि अहिलेको गठबन्धन टुटाउन चाहन्छन् । त्यसका लागि उपयुक्त पात्र उपेन्द्र यादव नै हुन् । विगतमा एमालेबाट राजनीति गरेकाले पनि उपेन्द्रलाई अलि सहज छ ।
तर उपेन्द्र गठबन्धनबाट अलग्गिए पनि कांग्रेस, माओवादी, एकीकृत समाजवादी भने एकढिक्का रहने सम्भावना प्रबल छ । गठबन्धन दलहरू कांग्रेस, माओवादी केन्द्रलगायत आगामी प्रदेश र संघीय निर्वाचनमा पनि तालमेल गरेर जानुपर्ने पक्षमा उभिन थालेका बेला जसपा भने एमालेसँग सहकार्य गर्न खोजेको देखिएको छ ।
ओलीले २५ वैशाखमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरी पछिल्लो पटक गठबन्धन असार १७ गते टुट्ने बताएका थिए ।
गठबन्धन टुट्ने कुरा आफ्नो नभइ ज्योतिषीको भएको भनाइ थियो । तर, तालमेललाई लिएर जसपा असन्तुष्ट हुँदा ओली नै गठबन्धन टुटाउन लागेको कतिपयको विश्लेषण छ ।
ओलीले बुधबार पार्टी संसदीय दलको बैठकमा पार्टी पहिलो हुन नसक्नुको कारण अन्तर्घातसँगै पाँच दलीय गठबन्धन पनि भएको बताएका थिए । उनी गठबन्धनप्रति निकै आक्रोशित छन् ।
प्रधानमन्त्री छँदा ओलीले दोस्रो पटक ७ जेठ २०७८ मा संसद् विघटन गरेपछि कांग्रेस नेतृत्वमा पाँच दलीय गठबन्धन बनेको हो । गठबन्धन एमालेको राजनीतिक यात्रामा भने हानिकारक भएको छ ।
परिणामतः संघीय सरकार मात्र होइन, चारवटा प्रदेश सरकार गुमायो भने राष्ट्रियसभा निर्वाचनसँगै स्थानीय तह निर्वाचनमा क्षति बेहोर्नु परेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।