आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपालले देखाइदिए चमत्कार, पुर्पुरोमा हात लगाएर बालकोटमै थन्किए ओली

माधव नेपालले देखाइदिए चमत्कार, पुर्पुरोमा हात लगाएर बालकोटमै थन्किए ओली

  • मिडिया डबली
  • मंगलवार, जेठ १० २०७९

  • 7.1K
    SHARES

  • माधव नेपालले देखाइदिए चमत्कार, पुर्पुरोमा हात लगाएर बालकोटमै थन्किए ओली

    काठमाडौं - नेकपा एमालेले स्थानी तहको निर्वाचनमा ठूलो झट्का व्यहोरेको छ। त्यो झट्का पार्टी विभाजनका कारणले पनि लागेको हो।

    एमाले विभाजनपछि ३० वर्षदेखिका किल्लाहरु भत्किएका छन् । खासगरी बुटवल, धरान, इटहरी, हेटौडा, विदुर दमक लगायतका शहरी इलाकाहरु एमालेले गुमाएको छ ।

    केही उपनगरपालिका र नगरपालिकाबाहेक एमालेलाई घाटा लागेको छ । मतान्तरण अवस्था फराकिलो नभएको र एमालेबाट टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादीसँगको गठबन्धनले सत्ता साझेदार दललाई फाइदा भएको देखिन्छ भने एमालेलाई घाटा भएको छ ।

    ६ वटामध्ये कुनै पनि महानगरपालिकामा एमालेले जित निकाल्न सकेन । कम्तीमा दुई वटा महानगर जित्ने अपेक्षा राखेको एमालेलाई यसपल्ट पार्टी विभाजनले ठूलै घाटा भएको छ । एमालेबाट विभाजित भएको माधव नेपाल नेतृत्वको नेकपा एसले एमालेकै उम्मेदवारलाई पराजित गरेका पनि छन् ।

    रौतहटको गौरमा एकीकृत समाजवादीका उम्मेदवारले कांग्रेस, एमाले तथा माओवादी केन्द्र जस्ता दलका उम्मेदवारलाई नै पराजित गरेका थिए । सल्यानको कपुरकोट गाउँपालिका, मुगुको सोरु, उदयपुरको उदयपुरगढी गाउँपालिका लगायतका अन्य पालिकामा एमालेकै उम्मेदवारलाई पराजित गरेका छन् ।

    कांग्रेसले एमालेका गढ भत्काएर जित हात पारेको छ । बुटवलमा हारेपछि एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई संसदीय निर्वाचनमासमेत अप्ठेरो पर्ने अवस्था छ । हेटौंडा २०४९ सालपछि पहिलो पटक एमालेको कब्जाबाट बाहिर आएको छ । त्यहाँ एमाले इतरको गठबन्धन रहेको थियो । एमालेको गढको रुपमा रहेको पोखरा पनि पहिलो पटक एमालेबाट फुत्किएको छ । यसरी हेर्दा अघिल्लो निर्वाचनमा उसले २९४ पालिकाको नेतृत्व जितेको थियो ।

    समग्रमा उसलाई करिब ९० पालिकाको नेतृत्व घाटा लागेको देखिन्छ । इलाममा नेकपा एसका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र गोदकमा बहुदलपछि पहिलो पटक नेपाली कांग्रेसले जितेको छ । नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनेका दिलीप प्रधान ‘ओमनाथ’ ले सो क्षेत्रमा जितेका हुन् ।

    ३१ वर्षदेखि त्यस स्थानमा एमालेले जित्दै आएको थियो । इलामकै सन्दकपुर गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्ष नेकपा एसले लिएर चुनावी गठबन्धन गरेका थिए । गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भए । त्यहाँ पनि एमाले विभाजनको असर स्पष्ट देखिएको छ । कास्कीको माछापुछ्रे गाउँपालिकामा पनि कांग्रेसले बाजी मारेको छ ।

    अन्तिम मत परिणामअनुसार गाउँपालिका प्रमुखमा एमालेका विक्रम गुरुङलाई ४ सय ८२ मतान्तरले पछि पार्दै कांग्रेसका मिनबहादुर गुरुङले जितेका हुन् ।

    २०५४ देखि निर्वाचनमा जित्दै आएको वडामा २६ वर्षपछि एमालेले हार भोगेको छ । त्यस्तै अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेले ‘क्लिन स्विप’ गरेको धनकुटाका दुई पालिकामा अहिले कांग्रेसले जितेको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिका र साँगुरीगढी गाउँपालिकामा कांग्रेसले जित हात पारेको हो ।

    छथर जोरपाटी गाउँपालिकामा कांग्रेसका छत्रबहादुर सुब्बा ४ हजार ३ सय ५९ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी एमालेका शेरबहादुर लिम्बूले ४ हजार १ सय ६४ मत प्राप्त गरे।

    त्यस्तै साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका जितेन्द्र राई ५ हजार ३ सय ९९ मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी एमालेका कुमारजंग याख्खाले ४ हजार ८ सय २८ मत पाए । त्यसैगरी सोलुखुम्बुको सोताङ गाउँपालिकामा पनि एमालेको गढ भत्किएको छ । त्यहाँ २६ वर्षपछि कांग्रेसले चुनाव जित्ने अवसर पाएको छ ।

    सोताङमा कांग्रेसका खिलराज बस्नेतले एमालेका प्रकाश कार्कीलाई पराजित गरेका हुन् । एमालेकै किल्ला मानिएको रामेछापको गोकुलगंगा गाउँपालिकामा पनि कांग्रेसले ३० वर्षपछि जित निकालेको छ ।

    वर्षौंदेखिको वामपन्थी गढ मानिएको काठमाडौंको कीर्तिपुरमा पनि यसपटक कांग्रेसले जित निकालेको छ । कीर्तिपुर नगरपालिकामा कांग्रेसले मेयरसहित बहुमत वडामा जित हासिल गरेको छ ।

    मेयरमा कांग्रेसका राजकुमार नकर्मी एमालेका रत्नकेशर बज्राचार्यलाई पछि पार्दै विजयी भएका हुन्। नकर्मी ९ हजार ४३ मत ल्याएर मेयरमा निर्वाचित हुँदा एमालेका बज्राचार्यले ५ हजार ५ सय ७ मत ल्याए ।

    कीर्तिपुरका अघिल्ला दुई स्थानीय निर्वाचनमा एमालेले विजय हासिल गरेको थियो । गुल्मीको रेसुंगा नगरपालिकाको मेयरमा कांग्रेसका खिलध्वज पन्थी पनि थोरै मतले विजयी भएका छन् । उनले एक हजारभन्दा कम मतले प्रतिस्पर्धी एमालेका राजेन्द्रप्रसाद पाण्डेलाई हराएका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २४ २०७८१२:४२:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend