काठमाडौं - स्थानीय तहको निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषय बढ्दै जाँदा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा पनि फुट्ने भएको छ ।
विप्लवले बुधबार सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोलालाई पदमुक्त गरेपछि पार्टी फुट्ने निश्चित भएको हो । बुधबार बिहान कपिलवस्तुको शिवगढीमा बसेको विप्लव पक्षीय नेताहरूको सचिवालय बैठकले ओली र बास्तोलालाई निष्कासन गरेको हो ।
बैठकमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर सहभागी थिए । पार्टीको ऐतिहासिक बाह्रौं पूर्ण बैठकले राजनीतिक प्रस्तावसहित सबै निर्णय एक मतले गरेको थियो ।
चितवनमा आयोजित केन्द्रीय प्रशिक्षणले देशभरिका बुझाइलाई केन्द्रीत र एकरूप बनाएदिएको थियो । तर,सचिवालय सदस्य सुदर्शन र कञ्चनले जनक्रान्तिको भावना विपरीत बैठकका निर्णय र नेतृत्वविरुद्ध पार्टी बाहिरका सञ्चारमाध्यममा अराजक तरिकाले अन्तर्वार्ता दिने, कार्यकर्तामाझ गुटबन्दी गर्ने र पार्टीका सबै मूल्यमान्यता भत्काउने कार्य गरेको विप्लव समूहको आरोप छ ।
काठमाडौंमा सचिवालय सदस्यहरूबीच दुईपटक बसेको बैठकले पार्टीका पारित निर्णयहरूको रक्षा गर्ने, आफ्ना कुनै विमति भए पार्टीभित्रै कमिटीमा राख्ने भन्ने निर्णय भएको जनाएको छ ।
तर, निर्णय बाहिर नपुग्दै दुवैले सञ्चारमाध्यममा फुटपरस्त एवं अराजक अन्तर्वार्ता दिएको विप्लवको दाबी छ । सचिवालय सदस्यको नामबाट वक्तव्य जारी गर्दै पार्टीले स्थानीय चुनावमा पठाएका देशभक्त, जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग गर्नुको सट्टा चुनावबाट फिर्ता हुनुपर्ने, नभए कारबाही गर्ने जस्ता गैरजिम्मेवार एवं हास्यास्पद वक्तव्य दिएको विप्लवको आरोप छ । कारबाहीमा परेका दुवैले नयाँ पार्टी खोल्ने तयारी थालेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।