काठमाडौं - एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनभित्रबाटै अपमान भइरहेको रिपोर्ट आएको बताएका छन् ।
स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष नेपालले विभिन्न जिल्लाबाट समाजवादीलाई अपमान गर्ने काम भइरहेको बताए ।
‘कतिपय ठाउँमा अरूको शक्तिको अवमूल्यन गर्दै अलि अपमानपूर्ण व्यवहार भएको छ भन्ने रिपोर्ट पनि आइरहेको छ,’ नेपालले भने, ‘हामी अपमान सहनका लागि जन्मिएका होइनौं । अपमानविरूद्ध विद्रोह गर्दै जन्मिएका हौँ । हामीलाई आफ्नो शक्ति र सामर्थमा विश्वास छ ।’
सबै दलभित्र उम्मेदवार बन्न तानातान भइरहेको भन्दै चुनावमा पराजित हुने स्थिति भएकाहरूले समेत गजबले जित्छु भन्दै घुर्की लगाइरहेको बताए । समाजवादीले अरूले भनेको आधारमा नभएर त्यहाँको वस्तुस्थितिको राम्रोसँग अध्ययन गरेर उम्मेदवार छनोट गर्ने उनले बताए ।
‘त्यहाँको कमिटीले जनताको भावनालाई बुझेर अनि पार्टीको प्रभावलाई ध्यानमा राखेर, व्यक्तित्वलाई ध्यानमा राखेर, यसले पुर्याएको योगदानलाई ख्याल गरी, उसको लोकप्रियताको पनि ध्यान दिएर मात्रै अघि बढ्नु पर्छ,’ नेपालले भने ।
पाँच दलभित्र जतिमा सहमति हुन्छ त्यही सहमतिको आधारमा र नभएको खण्डमा मित्रताको आधारमा स्वस्थ प्रतिस्पर्धामा जाने बताए । ‘जति सहमति हुन्छ त्यही आधारमा जान्छौँ । हामीले सहमति गरिसकेका छौँ कि पाँच दलकोबाहेक अरु दलहरूसँग सहमति नगर्ने । पाँच दलभित्र नै गर्ने । सहमति हुन सकेन भने मित्रताको आधारमा स्वस्थ्य प्रतिस्पर्धामा जाने भन्ने टुंगो लगाएका छौँ,’ अध्यक्ष नेपालले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।