आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

गोकुल बास्कोटालाई आफ्नै निर्वाचन क्षेत्रमा ठुलो धक्का, शक्तिशाली मेयरले एमाले छाडे

गोकुल बास्कोटालाई आफ्नै निर्वाचन क्षेत्रमा ठुलो धक्का, शक्तिशाली मेयरले एमाले छाडे

  • मिडिया डबली
  • मंगलवार, बैशाख ६ २०७९

  • 16.9K
    SHARES

  • गोकुल बास्कोटालाई आफ्नै निर्वाचन क्षेत्रमा ठुलो धक्का, शक्तिशाली मेयरले एमाले छाडे

    काठमाडौं - स्थानीय तहको निर्वाचन जति जति नजिकिँदै छ, उम्मेदवारका आकांक्षीहरू दलबदलमा लाग्ने क्रम उत्कर्षमा पुगेको छ । अघिल्लो निर्वाचनमा एउटा पार्टीबाट विजयी भएका प्रमुख, उपप्रमुख आज त्यही पार्टीमा छैनन् ।

    झन्डै १० प्रतिशतले अर्कै पार्टी रोजेका छन् । एमाले र जसपा विभाजनले पनि दलबदललाई प्रश्रय दिएको हो । माओवादी केन्द्रका झन्डै ३० जना प्रमुख उपप्रमुखले अर्को पार्टी रोजेका छन् । यसैक्रममा एमालेका ‘चर्चित’ नेता गोकुल बास्कोटाको गृहजिल्लामा धेरै दृश्य परिवर्तन भएका छन् । हिजो सानदारका साथ जितेको एमाले आज कसरी अघि बढ्ने भन्ने संकटमा छ ।

    बास्कोटाकै निर्वाचन क्षेत्र मण्डनदेउपुर नगरपालिकामा एमालेको कन्तबिजोग भएको छ । २०७४ सालको निर्वाचनमा मण्डनदेउपुरबाट आठ वडासहित प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको थियो ।

    तर, यसपालि बाँस्कोटाको क्षेत्रमा एमालेलाई चुनाव जित्न थुप्रै चुनौती छ । एमाले विभाजनको फाइदा उठाउँदै चुनाव जित्ने रणनीतिमा कांग्रेस छ ।

    मण्डनदेउपुर नगरपालिकामा तत्कालीन एमालेका उम्मेदवार टोकबहादुर वाइबा सात हजार ६ सय ४६ मत ल्याएर मेयर पदमा निवार्चित भएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका अच्युत पौडेलले ६ हजार तीन सय १३ मत ल्याएका थिए ।

    उपमेयरमा एमालेकै निर्मला शाही सात हजार पाँच सय एक मत ल्याएर विजयी भएकी थिइन् भने उनकी निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार राधिका ढकालले ६ हजार एक सय ६० मत पाएकी थिइन् । एमालेबाट चुनाव जितेका मेयर वाइबा नै एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बनेका छन् । मेयरसहित पाँच वडाध्यक्ष एकीकृत समाजवादीमा छन् ।

    एमालेमा भने उपमेयर निर्मला शाहीसँगै तीनजना वडाध्यक्ष छन् । जनप्रतिनिधिको बाहुल्यता एमालेभन्दा एकीकृत समाजवादीमै बढी देखिन्छ । तत्कालीन एमालेमा काभ्रेबाट प्रभावशाली देखिएका नेता अहिले एकीकृत समाजवादीमा छन् । २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन बागमती अञ्चलबाट एमालेलाइ निल हुनबाट जोगाएका नेता कृष्णप्रसाद सापकोटा पनि एकीकृत समाजवादीमा छन् ।

    त्यतिबेला बागमती अञ्चलमा एमालेबाट निर्वाचित हुने उनी एक मात्र सांसद थिए । संविधानसभा सदस्य विदुर सापकोटा, बागमती प्रदेश सांसद लक्ष्मण लम्साल पनि एकीकृत समाजवादीमै छन् ।

    नगरमा २८ हजार ५ सय ११ मतदाता छन् । त्यसमध्ये ६ हजारभन्दा बढी भोट समाजवादी एक्लैले ल्याउन सक्ने दाबी स्थानीय नेताहरूको छ । तर, एक्लै उठ्ने आँट भने उनीहरूमा छैन । कांग्रेसमा गठबन्धनमार्फत् चुनावमा जाने कि एक्लै भन्ने कुरामा दुई मत छ ।

    सभापति शेरबहादुर देउवा समूह गठबन्धनमार्फत् जाने पक्षमा छ भने शेखर कोइराला समूह एक्लै लड्नुपर्ने अडानमा छ । काभ्रेमा कांग्रेस सभापति तीर्थ लामा देउवा गुटका हुन् ।

    देउवा पक्ष काभ्रेमा १३ पालिकामध्ये सातवटा आफूले लिएर बाँकी माओवादी र समाजवादीलाई दिऊँ भन्ने पक्षमा छ । तर कोइराला पक्ष चारवटा दुई पार्टीलाई दिएर नौपालिका आफूले लिने पक्षमा छ । यदि कांग्रेस एकढिक्का भएर गएमा यसपटक एमालेको अवस्था निकै कमजोर हुने बताइन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १७ २०७७११:५१:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend