काठमाडौं - देशरकै राजधानी काठमाडौं महानगरपालिकामा अब को बन्ला त मेयर भन्ने चर्चा परिचर्चा र चासो सबैतिर देखिँदै आएको छ । अहिलेसम्म प्रमुख दलले कोही पनि उम्मेदवार तय गर्न सकेका छैनन् ।
सबै जोडघटाउमा लागेका छन् । खासगरी नेपाली कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । अघिल्लो स्थानीय निर्वाचनमा काठमाडौ महानगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेसले जितेका थिए । मेयरमा एमालेमा विद्यासुन्दर शाक्यले ६४ हजार नौ सय १३ मत ल्याए ।
कांग्रेसका राजुराज जोशीले ४५ हजार दुई सय ६९ मत ल्याएका थिए । एमाले र राप्रपाबीच तालमेल थियो । मेयरमा एमालेका शाक्य र उपमेयरमा राप्रपाका राजाराम श्रेष्ठ उम्मेदवार बनेका थिए । तर, उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गी ५८ हजार नौ सय ५२ मत ल्याएर विजयी भइ्रन् ।
राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार आठ सय ५४ मत ल्याएका थिए । माओवादी उम्मेदवार सर्वोत्तम डंगोलले मेयरमा सात हजार नौ सय ६ मत ल्याएका थिए । अहिले एमाले विभाजित छ । एमालेले मेयरमा ल्याएको मत र कांग्रेसले उपमेयरमा ल्याएको मतबीच तुलना गर्दा ६ हजार मतको मात्र फरक छ । त्यसैले यसपटक कांग्रेसले राम्रो उम्मेदवार उठाएमा गठबन्धन नगरे पनि जित्ने आकलन गरिएको छ ।
सत्तारुढ गठबन्धनबीच ६ मध्ये तीन–तीनवटा महानगरपालिका लिने मोटामोटी सहमति भइसकेको छ । जसअनुसार काठमाडौं नेपाली कांग्रेसले लिने निश्चित छ ।
यदि कांग्रेसको भागमा काठमाडौंको मेयर भाग परेमा को उम्म्मेदवार बन्ला भने चासो देखिएको छ । कांग्रेसबाट वर्तमान उपमेयर हरिप्रभा खड्गी, निलकाजी शाक्य, तीर्थराम डंगोल, प्रगतिमान रञ्जितको बढी चर्चा छ ।
तर, केही दिनयता कांग्रेस नेता प्रकाशमान सिंह पत्नी सिर्जना सिंहलाई कांग्रेसले मेयरमा अघि बढाउने चर्चा चुलिएको छ । हालै सम्पन्न कांग्रेसको १४औं महाधिवेशनमा सभापतिको निर्वाचनमा शेरबहादुर देउवालाई प्रकाशमान सिंहले दोस्रो चरणमा साथ दिएका थिए ।
त्यसको गुण तिर्न पनि देउवाले सिर्जनालाई मेयरको उम्मेदवार बनाउन सक्ने अडकलबाजी सुरु भएको छ । त्यसै पनि कांग्रेस सभापति देउवा र सिर्जना सिंहबीच हार्दिक सम्बन्ध छ । कांग्रेस नेतृ सिर्जनाले केही समयदेखि काठमाडौंमा महिला मेयर बन्नुपर्ने लबिइङ गरिरहेकी छन् ।
कांग्रेस महासमिति सदस्य सिर्जना सिंहले गत चैत २ गते सामाजिक सञ्जालमार्फत ‘काठमाडौंको मुहार बदल्न अब महिला मेयर बनाउनुपर्ने’ धारणा सार्वजनिक गरेकी थिइन् ।
काठमाडौं महानगरमा बाँकी रहेका सुधारका काम गर्न र व्यवस्थित सहर बनाउन ‘महिला मेयर हेरौ’ भन्ने उनको प्रस्ताव त्यतिकै आएको थिएन । सामाजिक सञ्जालमा धेरैले उनलाई ‘आफैं अगाडि बढ्न’ सुझाव दिएका थिए ।
तर, केहीले भने वर्तमान उपमेयर हरिप्रभा खड्गीलाई कांग्रेसले उपमेयरमा अघि सार्ने अनुमान गरेका थिए । तर, केही दिनयता कांग्रेसमा सिर्जना सिंहलाई काठमाडौंको मेयर बनाउनुपर्ने आवाज बलियो बन्दै गएको छ । विद्यार्थी राजनीति हुँदै सिर्जना सिंह पार्टी राजनीतिमा प्रवेश गरेकी हुन् ।
गत चैत २२ गते नेपाल महिला संघ काठमाडौं जिल्ला समितिको बैठकले सिर्जना सिंहलाई काठमाडौंको मेयर बनाउनुपर्ने सर्वसम्मत निर्णय गरिसकेको छ ।
महिला संघको जिल्ला समितिले सिर्जनालाई भेटेरै काठमाडौंको मेयरको उम्मेदवार बन्न आग्रह गरिसकेका छन् ।
तर सिर्जनाले आफू नेविसंघ र महिला संघको राजनीतिक पृष्ठभूमिबाट आएको भए पनि महानगरकै मेयर लड्नेबारे कुनै सोच बनाइनसकेको बताउँदै आएकी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।