मकवानपुर - नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी घरदैलो अभियानलाई तीब्र बनाउन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
सोमबार कांग्रेस बागमती प्रदेश कार्यसमितिको हेटौंडास्थित कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता सिंहले मतदाताको घर–घरमा पुगेर उनीहरुको सुख–दुःखमा सरिक हुँदै आवश्यक सुझावसमेत संकलन गर्न सकेमात्रै जनताको विश्वास र मत दुवै प्राप्त हुने बताए । ‘स्थानीय निर्वाचन नजिकिएको छ ।
हामी जनताको घर आँगनमा पुग्न सकेका छौँ कि छैनौँ ?, म राम्रो उम्मेदवार हुँ मैले जितिहाल्छु भनेर बसेर हुँदैन है, जनताको बीचमा पुग्न सक्नुपर्छ । उनीहरुको अवस्था कस्तो छ ?, जनहितमा पार्टीले के गर्न सक्छ ?, जनताको हामीप्रति असन्तुष्टिहरु छन् कि ? कांग्रेसले सुधार्नुपर्ने पो केही छ कि र? यी सबै विषयमा गम्भीर हुनु आवश्यक छ,’ सिंहले भने ।
उनले सरकारले निर्वाचनको मिति तय गरिसकेको अवस्थामा पनि केहीमा अझै चुनाव हुँदैन कि भन्ने शंका देखिएकोले दोधारमा नपर्न आग्रह गरे । सिंहले चुनावी गठबन्धनको विषयमा भने विभिन्न स्तरबाट केन्द्रीय सम्पादन समितिले सुझाव संकलन गरिरहेको र सोही आधारमा एउटा निष्कर्षमा पुगिने स्पष्ट पारे ।
‘धेरै सुझावहरु आएका छन्, कसैले निर्वाचनमा एक्लै जानुपर्छ भन्नुभएको छ, केहीले गठबन्धन नगरी हुँदैन भन्नुभएको छ । पार्टीको आन्तरिक सुझाव अनुसार नै अघि बढ्ने हो । गठबन्धन हुने नहुने वा आवश्यकता अनुसार हुने भन्ने विषय केही दिनभित्रै केन्द्रीय कार्यसम्पादन समितिले टुंगोमा पुर्याउँछ,’ सिंहले भने ।
कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले प्रदेश कार्यसमिति कांग्रेसलाई जनताप्रति अझै जवाफदेही र जिम्मेवार बनाउन सक्रिय ढंगबाट अघि बढिरहेको बताए ।
उनले कांग्रेस नेपाली जनताको मन मुटुमा बसेको पार्टी भएको बताउँदै कांग्रेसप्रति जनताको विश्वास अझै आर्जन गर्न सबैले आ–आफ्नो क्षेत्रमा भूमिका निर्वाह गर्नुपर्ने बताए ।
आन्तरिक विवादहरुलाई मिलाउँदै, सबैको सुखदुखमा सरिक हुँदै सबैको विचार भावनाको सम्मान गर्दै कांग्रेस अघि बढ्ने बानियाँले प्रष्ट पारे ।
कांग्रेसको संगठनलाई अझै चुस्त दुरुस्त बनाउने सन्दर्भमा प्रदेश कार्यसमितिले कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ ।
कार्यक्रममा कांग्रेसबाट बागमती प्रदेश सरकार र प्रदेशसभामा प्रतिनिधित्व गरेका मन्त्री तथा सांसद्हरु प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, १३ वटै जिल्लाका सभापतिहरुलगायत पार्टीका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । साथै प्रदेश कार्यसमितिको तेस्रो बैठक पनि आजै बस्ने भएको छ ।
प्रदेश महाधिवेशनपश्चात नै हेटौंंडा उपमहानगरपालिका वडा नम्वर ५ मा पार्टीको प्रदेश कार्यालय स्थापना गरिएको थियो । सोमबार भने त्यसलाई औपचारिक रुपमा उद्घाटन गरिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।