पोखरा - नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कम्युनिस्टका सामन्ती सोचले नै प्रकाश सपुत र पशुपति शर्मा जस्ता सर्जक लखेटिने अवस्था आएको बताएका छन् ।
माक्र्सवादी सौन्दर्यशास्त्रको दुहाई दिने कम्युनिस्ट सामन्ती सोचकै कारण प्रकाश सपुत र पशुपति शर्माहरू लखेटिनुपरेको उनको भनाइ छ ।
पछिल्लो समय अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप हुन थालेको भन्दै उनले यसतर्फ पार्टीले आवाज उठाउन आवश्यक रहेको बताए ।
प्रकाश सपूतको पछिल्लो गीतमा भएका आक्रोशप्रति संकेत गर्दै नेता शिवाकोटीले अभिव्यक्ति स्वतन्त्रताप्रति नांगो हस्तक्षेप भइरहेको भन्दै यस्ता विषयमा पार्टी चुप लागेर बस्न नहुने उल्लेख गरे ।
‘हिजोका दिनमा पशुपति शर्माको लुट्न सके लुट गीतलाई युट्युबबाट हटाउन केपी ओलीका कार्यकर्ताले बाध्य पारेका थिए आज अर्को कम्युनिस्ट घटक एकीकृत माओवादी पनि अभिव्यक्ति स्वतन्त्रता र कला सिर्जनामा प्रतिबन्ध लगाउन प्रयास गरिरहेको छ । यस्तो कार्यमा आम नागरिकसँगै राजनीतिक दलहरू चुप लागेर बस्न मिल्दैन,’ सोमबार पोखरामा आयोजित कार्यक्रममा उनले भने ।
एमसीसीको भ्रम छर्दै विभिन्न माध्यममार्फत कांग्रेसमाथि नियोजित आक्रमण भइरहेको उनले बताए । एमसीसीका सम्बन्धमा पार्टीले भ्रम चिर्ने प्रयासअन्तर्गत घरदैलो अभियान सुरु गरेको शिवाकोटीको भनाइ छ ।
‘कपाल काट्ने नाइलाई अब अमेरिकी सेना आएर तिमीहरुलाई लखेट्छन् भन्ने भ्रम छरे । महिलालाई अमेरिकी सेनाले बलात्कार गर्छन्, उनीहरुलाई कानून लाग्दैन भन्ने भ्रम छरियो । समाजमा छरपष्ट रहेका यस्ता भ्रमलाई चिर्न कांग्रेस मैदानमा उत्रिएको छ,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।