काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले संसद् बैठक तत्काल आह्वान गर्न सभामुख डोलप्रसाद अर्यालसँग आग्रह गरेका छन्।
मंगलबार सिंहदरबारमा दुवै दलका नेताहरूले सभामुख अर्यालसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै संसद् बैठक बोलाउन माग गरेका हुन्। भेटका क्रममा सभामुख अर्यालले छिट्टै संसद् आह्वान गर्ने प्रतिबद्धता जनाएको नेताहरूले बताएका छन्।
सभामुखसँगको भेटपछि नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पछिल्लो समय सार्वजनिक भएका संवेदनशील विषयमा संसद्भित्रै व्यापक छलफल आवश्यक रहेको बताए। उनले महत्त्वपूर्ण विषयलाई लामो समयसम्म अल्झाएर राख्नुभन्दा संसद्मार्फत छलफल गरी निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए।
सरकारले संसद्लाई छल्ने गरी अध्यादेशमार्फत विभिन्न विषयमा हस्तक्षेप गरिरहेको र लोकतन्त्रका मूल्यमान्यतामाथि प्रहार भइरहेको आरोप लगाउँदै आङ्देम्बेले संसद् बैठक चाँडै बोलाउनुपर्ने बताए।
त्यस्तै, कर्मचारीहरूलाई कार्यस्थलबाट हटाएर प्रधानमन्त्री कार्यालय वा अन्यत्र लैजाने तथा उनीहरूलाई यातना गृहमा राखिएको जस्तो अनुभूति हुने अवस्था सिर्जना भएको विषयको समाधान पनि संसद्बाटै खोज्नुपर्ने उनको भनाइ छ।
यता, नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले पनि संसद्को अधिवेशन चालु नरहेको अवस्थामा विभिन्न समस्या र विकृति बढिरहेको भन्दै तत्काल बैठक आह्वान गर्नुपर्ने बताइन्।
उनले सरकार, प्रशासन, न्यायपालिका र राजनीतिक दलहरूमा बिचौलियाको प्रभाव बढिरहेको उल्लेख गर्दै त्यसलाई निरुत्साहित गर्नु र संलग्नहरूको खोजी गर्नु राजनीतिक दलहरूको प्रमुख जिम्मेवारी भएको बताइन्।
प्रतिपक्षी दलका नेताहरूले संसद् बैठक आह्वान गर्न गरेको आग्रह र सभामुखले जनाएको प्रतिबद्धतासँगै संसद् बैठक कहिले बस्छ भन्ने चासो बढेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।