हेटौंडा - नेपाली कांग्रेस मकवानपुरले २०४६ सालपछि पहिलो पटक तामाङ समुदायबाट नेतृत्व पाएको छ ।
१४ औं अधिवेशन अन्तर्गत भएको जिल्ला अधिवेशनमा पहिलो चरणमा सबैभन्दा बढि मत ल्याएका बुद्धा लामा ब्लोन सहमतिका आधारमा सभापति भएपछि करिब ३ दशकपछि कांग्रेस मकवानपुरले तामाङ समुदायबाट सभापति पाएको हो ।
यसअघि २०४६ साल अघि सूर्यबहादुर डिम्डुङले नेपाली कांग्रेसको नेतृत्व गरेका थिए । बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका प्रदेश सभापति इन्द्रबहादुर बानियाँले यसअघि समावेशी सिद्धान्त अनुसार चेपाङ समुदायबाट सन्तबहादुर प्रजालाई राज्यमन्त्री बनाएका थिए भने उनकै समर्थनमा लामा जिल्ला सभापतिको उम्मेदवार बनेका थिए ।
अहिले नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र प्रदेश सभापति बानियाँको पहलमा पहिलो र दोस्रो हुने दुबैबीच सहमति भएको छ ।
सहमतिपछि बानियाँ र उपाध्यायले पार्टीमा लामो योगदान गरेका लामाप्रति न्याय गरेको कांग्रेसजनहरुले तर्क गरेका छन् । पार्टीको आन्तरिक नेतृत्वका लागि मतदानमा होमिएर पुनः कार्यकर्तालाई दुःख दिनु भन्दा सहमतिका लागि पराजुलीले समेत हार्दिकता देखाएको भन्दै कार्यकर्ताबाट उनको प्रशंसा भईरहेको छ ।
पहिलो र दोस्रो भएका दुबै उम्मेदवार संस्थापन पक्षका हुन् । निर्वाचन अघि कार्यवाहक सभापति विष्णु लामिछानेलाई सभापति र लामा र पराजुलीलाई उपसभापति बनाउने बानियाँको प्रयास असफल भएको थियो ।
त्यसपछि लामा र पराजुली जसले पहिलो चरणमा बढि मत ल्याउँछ उसलाई दोस्रो चरणमा सहमतिमा नेतृत्व दिने भद्र सहमति भएको चर्चा थियो ।
दुबै उम्मेदवारबीच सहमति भएपछि नेपाली कांग्रेसमा खुशीको संचार भएको भन्दै कांग्रेस कार्यकर्ताहरुले खुशीयाली मनाउन थालेका छन् ।
यसले आगामी स्थानीय तहको निर्वाचनमा सकारात्मक सन्देश भएको र यसले जिल्लामा कांग्रेसले सुखद नतिजा ल्याउने जनाईएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।