काठमाडौं - प्रेस काउन्सिल नेपालले नेपाल आज अनलाइनलाई कालोसूचीमा राखेको छ । शुक्रबार विज्ञप्ति जारी गरी काउन्सिलले पत्रकारिताको मूल्य मान्यताविपरीत कार्य गरेको, आचारसंहिता उल्लंघन गरेको भन्दै सञ्चार मन्त्रालयलाई विज्ञापनसमेत उपलब्ध नगराउन अनुरोध गरेको छ । काउन्सिलको सो निर्णयको नेपाल आज डटकमले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आफूहरूमाथि षड्यन्त्र भएको बताएको छ ।
नेपाल आजले विज्ञप्ति जारी गर्दै नेपाल चीन सीमाबारे खोजमूलक समाचार प्रकाशन गरेकै कारण बदनियत राखी, षड्यन्त्रपूर्वक एक महिलालाई उजुरी हाल्न लगाई, सञ्चालकको चरित्र हत्या गरी कालोसूचीमा राखिएको उसले जनाएको छ ।
कसैले महिला हिंसाबारे दिएको उजुरीउपर छानविन नै नगरी पीडितलाई थप पीडा दिने कार्य भएको नेपाल आजले दाबीसमेत गरेको छ ।
प्रेस काउन्सिल नेपालले चीनले नेपालको सीमा मिचेको तथा नेपालमाथि अघोषित रूपमा नाकाबन्दी जारी राखेको समाचार हटाउन नेपाल आजमाथि निरन्तर प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा दवाव दिँदै आइरहेको आरोप लगाउँदै उसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चीनविरुद्ध समाचारहरू नलेख्न प्रेस काउन्सिलको दबाब नमान्दा चिनियाँ साम्राज्यवादी विचारधारप्रति आस्था राख्ने काउन्सिलका नेतृत्वले नेपाल आजलाई कालोसूचीमा राखेको हाम्रो ठहर छ ।’
साथै नेपालवाचडटकमभित्रको बेथितिबारे र पत्रकारहरुको हकहितका लागि पनि नेपाल आजले लेखेको समाचार नहटाउँदा नेपाल आजको सञ्चालकलाई फर्जी मुद्दामा जेल हाल्ने धम्की दिएको, एक कर्मचारीलाई प्रयोग गरी काउन्सिलमा उजुरी दिन लगाएकोसमेत नेपाल आज डटकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आज प्रेस काउन्सिलको नेपालले नेपाल आजलाई कालो सुचीमा राखेकोबारे नेपाल आजका प्रस्टोक्तिः आज एक प्रेस बिज्ञप्ति जारी गर्दै प्रेस काउन्सिल नेपालले नेपाल आज डटकमलाई कालोसूचीमा राखेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
बिगत लामो समयदेखि स्वतन्त्र र निष्पक्ष पत्रकारिता गरिरहेको यस नेपाल आज डटकमलाई नेपाल चीन सिमाबारे खोजमूलक समाचार प्रकाशन गरेकै कारण बदनियत राखी, षड्यन्त्रपूर्वक एक महिलालाई उजुरी हाल्न लगाई, सञ्चालकको चरित्र हत्या गरी अन्ततः कालोसूचीमा राखिएको हाम्रो ठहर छ ।
कसैले महिला हिँसाबारे दिएको उजुरीउपर छानविन नै नगरी पीडीतलाई नै थप पीडा दिने कार्य भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाही नेतृत्वको एक कार्यदलले नेपाल–चीन सिमाका सिमा स्तम्भहरु हराएका, सिमास्तम्भहरुलाई तारवारले घेरेर राखेको र चीनले नेपाली भूमिमा अनाधिकृत संरचना निर्माण गरेका तथ्यहरुसहितको प्रतिवेदन सार्वजनिक गरेपश्चात नेपाल आजले सो विषयमा निरन्तर समाचारहरु तथा स्थलगत रिपोर्टिंगहरु प्रकाशन÷प्रसारण गर्दैआएको थियो र छ । नेपाल–चीन सिमाबारे संघीय सरकारले समेत अध्ययन समिती बनाएर पनि नेपाल–चीन सिमामा समस्याहरु रहेको निश्कर्ष निकालेको छ । यस विषयमा बीबीसीलगायत विभिन्न अन्र्तराष्टिय सञ्चारमाध्यमहरुले समेत समाचारहरु सम्प्रेषण गरेका छन् ।
प्रेस काउन्सिल नेपालले चीनले नेपालको सिमा मिचेको तथा नेपालमाथि अघोषित रुपमा नाकाबन्दी जारी राखेको समाचारहरु हटाउन नेपाल आजमाथि निरन्तर प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा दवाव दिँदै आइरहेको थियो । चीनविरुद्ध समाचारहरु नलेख्न प्रेस काउन्सिलको दवाव नमान्दा चीनियाँ साम्राज्यबादी विचारधारप्रति आस्था राख्ने काउन्सिलका नेतृत्वले नेपाल आजलाई कालोसुचीमा राखेको हाम्रो ठहर छ ।
यसैगरी, नेपालवाचडटकममा कार्यरत दर्जनौ पत्रकारहरुमाथि अन्याय हुँदा त्यसभित्रको बेथितिको बारेमा पत्रकारहरुको हकहितका लागि पनि नेपाल आजले लेखेको समाचार नहटाउदा नेपाल आजको सञ्चालकलाई फर्जी मुद्दामा जेल हाल्ने धम्की दिएको नेपालवाचले आफ्नै महिला कर्मचारीको प्रयोग गरी काउन्सिलमा उजुरी दिन लगाएको समेत जानकारी सबैलाई गराउन चाहन्छौं ।
नेपाल आजको सञ्चालको हिंसाबाट पिडीत भनिएर प्रचारित सो महिला नेपाल वाचकै कर्मचारी रहेको यसैमार्फत खुलासा गर्दै ती महिलाको सत्यतथ्य पनि चाडैं उजागर हुने विश्वास व्यक्त गर्दछौं ।
सो महिलाले प्रेस काउन्सिलको नेतृत्वको स्वास्र्थविपरितका समाचारहरु नहटाए नेपाल आजका सञ्चालकविरुद्ध उजुरी हाल्ने धम्की समेत दिदै आएकी थिइन् र सोही क्रममा अर्को एक पुरुष प्रयोग गरी ५ लाख रुपैयाको माग समेत गरेको तथ्य समेत यहाँनेर उल्लेख गर्दछौं । यसको प्रमाण हामीसंग सुरक्षित छ ।
तसर्थ, नेपाल आज डटकममाथि भएको यो अन्यायपूर्ण कार्य सच्याउन हामी काउन्सिललाई अनुरोध गर्दछौं । साथै, महिला प्रयोग गरी नेपाल आज डटकमलाई सिध्याउने मनसाय राखी चिनीयाँ साम्राज्यवादी शक्तिको पक्षपोषणमा गरिएको उक्त कार्यको निष्पक्ष छानविनको माग समेत गर्दै यस अन्यायविरुद्ध नेपाल आज अझ सशक्त रुपमा उभिने हाम्रा पाठकहरुलाई विश्वास दिलाउन चाहन्छौं ।
धन्यवाद । सञ्चालक

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।